‘सिरियाका रासायनिक अस्त्र उपकरण नष्ट’

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १:५३ मा प्रकाशित

अन्तर्राष्ट्रिय निरीक्षकहरुले भनेका छन्, सिरियाले घोषणा गरेका रासायनिक अस्त्र उत्पादन केन्द्र तथा उपकरणहरुलाई नष्ट या काम गर्न नसक्ने तुल्याइएको छ।

रुस र अमेरिकाले गरेको संझौतामा तोकिएको अन्तिम मिति भन्दा एकदिन अगावै उक्त काम सकिएको अर्गनाइजेशन फर दि प्रोहिविशन अफ केमिकल विपन्सले जनाएको छ।

तर एक हजार टनभन्दा बढी घातक रसायन तथा अस्त्रहरु अझै नष्ट गर्न बाँकी नै छ।

उपकरण

रासायनिक अस्त्रबारे अनुगमन गर्ने अन्तर्राष्ट्रिय निकाय ओपिसिडब्लुले सिरियाले घोषणा गरेका रासायनिक अस्त्र उत्पादन तथा मिसावट गर्ने सबै उपकरणहरु नष्ट गरिएको जनाएको छ।

सिरिया सरकारले सर्वसाधारण जनता विरुद्ध रासायनिक अस्त्र प्रयोग गरेको भन्ने आरोप लागेपछि अस्त्र निरीक्षकहरुलाई त्यहाँ पठाइएको थियो।

सिरिया सरकारले आफुले रासायनिक हमला गरेको भन्ने आरोपहरुको खण्डन गर्दै आएको छ।

तर अमेरिकाले त्यसमा सिरियाको सत्ता नै जिम्मेवार रहेको आरोप लगाउँदै सैन्य हमला गर्ने चेतावनी दिएपछि आफुसँग रहेको रासायनिक अस्त्र भण्डार अन्तर्राष्ट्रिय सुपरिवेक्षणमा नष्ट गर्न उसले सहमति जनाएको थियो।

सिरियामा ओपिसिडब्लुका कार्यक्रम प्रमुख जेरी स्मिथले भने, “हामीले सिरियाको रासायनिक अस्त्र उत्पादन, मिसावट तथा भर्ने औजारहरुको प्रमाणिकरण ग-यौं र हामीले नष्ट गर्ने सबै कार्यको व्यक्तिगतरुपमा पर्यवेक्षण पनि गरेका छौं।”

स्मिथले द्वन्द्वको बीचमा सीमित समयावधि भित्र सिरियाको रासायनिक अस्त्र उत्पादन क्षमता नष्ट गर्ने काम निकै चुनौतीपूर्ण भएको पनि बताए।

पुरष्कार

यसै महिनाको शुरुमा ओपिसिडब्लुले शान्तिकालागि अन्तर्राष्ट्रिय नोबेल पुरष्कार जितेको थियो। तर स्मिथले भने, हामी यति व्यस्त थियौं कि खुसियाली मनाउने समय पनि पाएनौं।

त्यसो त अहिले पनि सिरियासँग एक हजार टनभन्दा बढी घातक रसायन तथा अस्त्रहरु अझै नष्ट गर्न बाँकी नै छ।

रुस तथा अमेरिकाबीच जेनेभामा भएको सहमति बमोजिम उसले आउँदो वर्ष सन् २०१४ को मध्यसम्ममा उ सँग रहेका सबै रासायनिक अस्त्रहरु नष्ट गरिसक्नु पर्नेछ।

आउँदो दुई साताभित्र अन्तर्राष्ट्रिय अस्त्र निरीक्षकहरु तथा सिरिया सरकारबीच रासायनिक अस्त्र भण्डार नष्ट गर्ने एउटा समयतालिकाका बारेमा सहमति हुने अपेक्षा गरिएको छ। source : BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us