सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ मा एकीकृत माओवादीका उम्मेदवार बिलबहादुर रायमाझी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पशुपति शम्सेर राणा वीच प्रतिस्पर्धा हुँदैछ । रायमाझी पहिलो पटक निर्वाचनमा होमिएका छन भने राणाको निर्वाचनमा होमिएका यो अन्तिम पटक हो ।
पूर्व मन्त्री पशुपति शम्सेर राणालाई पराजित गर्ने आधारका वारेमा सोधिएको प्रश्नको जवाफ दिदै रायमाझी भन्छन ‘सुनको गाग्रीको पानीभन्दा माटोको गाग्रीको पानी मीठो हुन्छ । सुनको चम्चाले खाएको चौरासी मिष्ठानले बनेको शरीरभन्दा कोदोको ढिँडो र गुन्द्रुक खाएको शरीर गतिलो र बलियो हुन्छ । ठेला उठेको हातहरुले मुलायम र सुकुमार हातहरुलाई बटार्न र लडाउन सक्छ । हामीसँग सही विचार र राजनीति छ । सही राजनीति र सही विचारधारात्मक कार्यदिशाले मात्र जनतालाई एकताबद्ध गर्न सक्छ । सही विचार र राजनीति बुझेका सचेत र इमानदार जनताको अगाडि संसारका कुनैपनि बादशाह टिकेको इतिहास कहिँपनि छैन । सही सिद्धान्त र इमान्दार जनता हाम्रो पक्षमा भएकोले हाम्रो विजय सुनिश्चित छ ।’
तपाई आफूलाई कसरी चिनाउनुहुन्छ ?
मेरो नाम बिलबहादुर रायमाझी हो । सिन्धुपाल्चोकको सिन्धुकोट–३, ढुङ्गेछापमा २०२३ मसिर१० गते जन्मिएको हुँ । मेरो बुबाको नाम बलबहादुर रायमाझी र आमाको नाम कृष्णकुमारी रायमाझी हो । मेरा दुई दिदी हुनुहुन्छ । एक बहिनी छन । एक दाजू र एक भाई छन । मैले प्राविदेखि माविसम्म सिन्धुपुराना गाउँ मावि (२०४०)मा पढेको हुँ । प्रमाणपत्रदेखि स्नातक तहसम्म–रत्नराज्य क्याम्पस प्रदर्शनी मार्ग,काठमाण्डु (२०५०)मा पढेका हुँ । २०४० देखि २०५४ सम्म शिक्षण पेशामा संलग्न रहे । निमावि दरबन्दीमा स्थायी,मावि अस्थायी शिक्षक भएर मैले काम गरे । मैले सिन्धुपुराना गाउँ मावि, सिन्धुकोट,जाल्पा मावि जैसिगाउँ, भोटेचौर,पञ्चकन्या मावि, कुविण्डे र जुगल बोर्डिङ स्कुल, चौतारामा पढाए । त्यसपछि म पूर्णकालीन रुपमा राजनीतिमा होमिएको हुँ ।
तपाईको क्षेत्रमा तामाङ समुदायको बाहुल्यता छ । पशुपति शम्सेर राणा गाउँ पसेर पैसा, घडी,मोबाइल,लत्ताकपडा बाँड्ने र भोजभत्तेर गर्न थालिसकेका छन् भन्ने सुनिन्छ । तपाईँ चाहिँ के लिएर गाउँ पस्दै हुनुहुन्छ ?
जनतालाई निरीह र चेतनाहीन सोचेर दानापानी र हरियो घाँसमा आफ्नो लुटको सत्ता बचाइराख्ने सामन्तहरुको यो मक्किसकेको पुरानो संस्कार हो । फेरि २०६४ साल पनि होइन । जति समय लगारिँदै जान्छ नयाँ विचार र चेतनाले त्यसलाई किच्दै जान्छ । ०६४ सालमा पनि उनले यस्ता बिकृति नभित्र्याएका होइनन् । जनतालाई स्पष्ट के थाहा भैसकेको छ भने एउटा मोबाइलमा आफ्नो सुन्दर भविष्य बिगार्न र राष्ट्रियता बेच्न सकिन्न । म जनताको विश्वास र अगाध आस्था बोकेर राष्ट्रिय स्वाधीनता, धर्मनिरपेक्षता, गणतन्त्रलाई संस्थागत गर्ने महान् सहिदहरुका अधुरा सपना पूरा गर्ने, पहिचानसहितको संघीयता भएको शिक्षा, स्वास्थ्य,खाद्यान्न, रोजगारी, क्रान्तिकारी भूमिसुधारसहित जनसंविधान बनाउने सन्देश बोकेर गाउँ पस्नेछु ।
तपाईँ दर्शनशास्त्रमा दख्खल राख्नुहुन्छ । जनतालाई आदर्श मात्र बाँडेर भोट आउला त ? जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी केहि अभियान त चाल्नु पर्ला नी ?
सिद्धान्तबिनाको व्यवहार अन्धो र व्यवहारबिनाको सिद्धान्त लङ्गडो हुन्छ । हरेक खेलहरु विधि र नीतिअनुरुप सञ्चालन हुन्छन् । दर्शन भनेको दुनियाँ बदल्ने भित्री आँखा हो । तर यसलाई मानवहित र समाज विज्ञानसँग जोड्नुपर्छ । यसको साथै जनताको नाममा आएका बजेटको आधारमा दिगो शान्ति कायम गर्दै जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण पनि गर्दै जाने मेरो सोचाई छ ।
अरु उम्मेदवार भन्दा तपाई के आधारमा फरक हुनुहुन्छ ?
निश्चय नै हामी नयाँ युग जन्माउने धातुले बनेका नयाँ मानिस हौँ । आँशुका नूनिला ढिकाभन्दा ताता गोली मीठो हुन्छ भन्ने नयाँ मान्यता हामीले स्थापित गरेका छौँ । प्राणभन्दा विचार महान् हुन्छ भन्ने आदर्श हामीले कायम गरेका छौँ । गलत विचारलाई त्याग्दै सही विचार र कार्यक्रमलाई स्थापित गर्दै हामीले ठूलो त्याग गरेका छौँ । यतिबेला हाम्रो कार्यक्रम भनेको जनमुखी संविधान बनाउने नै हो । दश वर्षे महान् जनयुद्ध , १९ दिने ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलन र यसकै जगमा टेकेर महान् जनताबाट प्राप्त मत नै यसका आधार हुन् ।
पहिलो संविधानसभामा माननीय दावा तामाङले थोरै भोटको अन्तरले बाजी मारेका थिए । तर अहिले त पार्टी नै विभाजन भएको अवस्थामा कसरी प्रतिस्पर्धी हुन सक्नुहुन्छ ?
पहिलो कुरा कुनै व्यक्तिले एउटा धाराको पानीमा एकपटकसम्म नुहाउनसक्छ । अथवा, समय गतिशील छ । बिगत जुन अवस्थामा थियो वर्तमान त्यहि अवस्थामा हुँदैन । वर्तमान जुन अवस्थामा छ भविष्य त्यहि अवस्थामा रहिरहँदैन । दावा तामाङ असाध्यै इमानदार र जनप्रिय हुँदा पनि त्यतिबेला ३ नम्बर क्षेत्रमा माओवादी नै छैनन्, भएको भए किन २ नम्बरबाट ल्याउँथे भन्ने जस्ता भ्रमहरु व्यापक रुपमा छरिएका थिए । फेरि पार्टी विभाजित भएपनि त्यसभित्र रहेका सबै कमरेडहरुसँग मेरो राम्रो सम्बन्ध छ । त्यसमाथि पनि म ३ नम्बर क्षेत्रकै गोठपानी र गाउँबेसी गरेर हुर्केको सबैको म साझा चिल्लो विरुवा हुँ । तर यी सहायक कुरा हुन् । मुख्य कुरा त सही विचार , कार्यनीति र जनता नै निर्णायक हुन् ।
पार्टी विभाजनपछि ३ नम्बर क्षेत्रमा एमाओवादी कमजोर रहेको भन्ने बिपक्षीको दावी छ,साँचो कुरा के हो ?
पार्टी विभाजनपश्चात केही कमरेडहरु बाहिरिनु भएको छ । यो निश्चित हो । यसले पक्कै पनि जनतामा नैराश्यताको मनोवैज्ञानिक असर पार्दछ । तैपनि हामीबीचको व्यवहारले के पुष्टि गरिरहेको छ भने हामी दुई पार्टी भएका छैनौँ । दावाजी,उपेन्द्रजी,अन्जानजी, हिमालजीहरुबीच सैद्धान्तिक बहस चलिरहेकै छ । भावनात्मक सम्बन्ध अझै गाढा बनिरहेकै छ । यो अर्थमा हामी कमजोर छौँ जस्तो लाग्दैन ।
विपक्षी पार्टीका कार्यकर्तासँग तपाईँको सम्बन्ध कस्तो छ ?
विगत लामो समयदेखि म राजनीतिमा सक्रिय रहँदै आएको छु । लोकतन्त्रको नाउँमा यतिबेला यति धेरै पूर्वाग्रह र सङ्कीर्णता फस्टाइसकेको छ कि त्यो ढुङ्गा कुन पार्टीको ? त्यो खोला कुन पार्टीको ? जस्ता तीता, टर्रा शब्दहरुपनि कहिलेकाहिँ जीवनव्यवहारमा देखिएका छन् । तर त्यसलाई बिर्सेर मेरो सन्दर्भमा भन्नुपर्दा भिन्न पार्टीका भएपनि कोही मेरा आदरणीय गुरु हुनुहुन्छ ,कोही साथी शिक्षक नै हुनुहुन्छ । कोही विद्यार्थी हुनुहुन्छ । बेग्लै पार्टी भएपनि भंैसीको गोबर सोर्न पनि म पछि परेको छैन । मलाई लाग्छ श्रम नै मानव एकता र भावनात्मक एकताको सुत्र हो । त्यसैले सबैसँग मेरो राम्रो सम्बन्ध छ ।
तपाईँ निष्ठावान,जनताप्रति बफादार हुनुहुन्छ,तपाईको सरल व्यवहारले पनि त्यो थाहा हुन्छ तर चुनावमा त ‘मनि र मसल’को प्रयोग हुन्छ । कसरी बाजी मार्ने सोच राख्नुभएको छ ?
ठीकै भन्नुभो । तर मलाई के लाग्छ भने महान् भनेकै आमा, बुबा , दाजुभाई , दिदि बहिनीहरु हुन् । जनता इतिहासका निर्माता हुन् । जनता फलामका किल्ला हुन् । आफ्नो दुश्मनलाई धुलो चटाउने तागत जनतामा मात्र हुन्छ । टाउको काटेर होइन , टाउकोभित्र रहेको गुदीलाई फेर्नु पर्छ । जनताको मन चुडाल्नु हुन्न, मन र विश्वास जित्नुपर्छ । यसो भन्दैमा जनताका शत्रुहरुले मनि र मसल प्रयोग गरे पनि हामी बुख्याँचा बनेर टुलुटुलु हेर्ने छैनौँ । जनताको अधिकार प्राप्तिको निम्ति हिजो पनि ठूल्ठूला बलिदानी बेहोरेकै थियौँ अझै पनि तयार छौँ ।
यस्तो संसदीय भासमा फसेको नेपाली राजनीतिको पर्दामा तपाईँ नायक बनेर आउने संभावना कत्तिको देख्नुहुन्छ ?
यतिबेला हाम्रो देश अग्रगामी परिवर्तन र यथास्थिति संसदवादको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । म जन्मँदा स्वतन्त्र थिएँ तर देश स्वतन्त्र नभई साम्राज्यवाद, विस्तारवाद र तीद्वारा पालितपोषित सामन्त, दलाल र नोकरशाहहरुद्वारा जनतामाथि शोषण,उत्पीडन गरिरहेकाले हामीजस्ता क्रान्तिकारी, निष्ठावान र इमानदार व्यक्तिहरुको अझैपनि अभिभारा पूरा भईसकेको छैन । कि मृत्यु कि मुक्तिको शपथ खाएका नयाँ युग जन्माउने हामी राता मान्छेहरु छातीमा एकथोपा रगत छउन्जेल लडिरहने छौँ । नायक त आफू बन्ने होइन वर्ग संघर्षको बीचबाट जनताले बनाउने हो ।
तपाईको क्रान्तिकारी पार्टी पनि संसदीय भासमा मिल्यो भन्ने आरोप छ । के आधारमा भोट माग्नुहुन्छ ?
संसदीय भासमा मिलेको भए संविधानसभाको अवसान नै हुँदैनथ्यो । संविधानसभाको निम्ति नेपाली होनाहार सपुतहरुको बलिदान भएको छ । हामीले संविधानसभाको नारा र कार्यक्रमलाई छोडेर २०४७ कै संविधानलाई सामान्य संशोधन गरेर अग्रगामी संविधान बनायौँ भनेर गर्व गरिहाल्थ्यौँ नि । हामीले पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, संविधानसभाबाटै संविधान भन्ने नारा छाडेका छैनौँ । यो भनेको क्रान्तिका उपलब्धीहरुको रक्षा गर्ने र समाजवादको आधार तयार पार्ने भनेको छ । जनवाद, समाजवाद र साम्यवादको सोपानमै हाम्रो क्रान्ति अगाडि बढिरहेको छ । त्यसैले हाम्रो पार्टी संसदीय भासमा डुब्यो भन्ने मिथ्या आरोपमात्र हो ।