नव प्रवेशीमाथि एमाओवादीको विश्वास : लालच की फराकिलो छाती !

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते १:०२ मा प्रकाशित

Ramchandra-Jhaकाठमाण्डु, कात्तिक–अघिल्लो पटक नेकपा संयुक्तबाट समानुपातिक तर्फबाट संविधानसभामा छिरेका तेस्रो लिङ्गी सभासद् सुनिलबाबु पन्त यो पटक कतै आफ्नो भविष्य नदेखेपछि नेकपा एमालेमा प्रवेश गरे । तर उम्मेदवार बनाउने बाचा गरेर पन्तलाई भित्र्याएको एमालेले उनलाई कतै स्थान दिएन । एमालेले हिस्स न किच्च बनाएपछि झण्डै ४ लाखको हाराहारिमा रहेका तेस्रो लिङ्गीहरु अहिले विलखबन्धनमा परेका छन् । पन्तले अहिले आफू एमाले प्रवेश गरेर गल्ती गरेको महसुन गर्न थालेका छन् ।

पछिल्लो समय एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नेको लहड नै चल्यो । एमाओवादी अध्यक्ष प्रचण्डलाई बाहिरियाहरुलाई भित्राउन फुर्सद मिलेन । तर कतिपय बाचा अनुसार आएका र बाचा नबाँधी आएकाहरुले पनि एमाओवादीमा राम्रै स्थान पाए । चुनाव हुनुभन्दा एक वर्षअघि भित्रिएकाहरु र अन्तिम नामावली प्रकाशन गर्दाको अघिल्लो रात एमाओवादीको टिका लगाएकाहरुले पनि पछुताउनु परेन ।

नेपाली काँग्रेस परित्याग गरेर एक दिनअघि एमाओवादीमा भित्रिएका र एमाले त्यागेर एकवर्ष अघि भित्रिएका समेत सभासदको उम्मेदवार बन्न भ्याए । काँग्रेस छोडेका ६ जनाले त प्रत्यक्षमै भिड्ने गरी एकीकृत नेकपा माओवादीबाट टिकट पाए । २०७० साल असोज १५ गते नेपाली कांग्रेस छोडेर एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका शम्भुलाल श्रेष्ठले सर्लाही क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फको टिकट पाए । २०४६ सालको आन्दोलनबाट राजनीतिमा सक्रिय भइ २०५५ सालमा नेपाली काँग्रेसको सर्लाही जिल्ला सचिव र २०४८ सालदेखि लगातार महासमिति सदस्य भएका श्रेष्ठलाई एमाओवादीले विश्वास गरेर टिकट दियो ।

नेपाली काँग्रेस, नेकपा एमाले हुँदै २०७० साल जेठ ४ गते एकीकृत नेकपा माओवादीमा पुगेका राजकिशोर यादवलाई पनि एमाओवादीले पत्याएर रौटहट क्षेत्र नम्बर १ को प्रत्यक्षको उम्मेदवार बनायो । नेविसंघ मार्फत् राजनीति गर्दै जाँदा २०४८ सालमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भएका यादव महाधिवेशन प्रतिनिधिभन्दा माथि नपुगेपछि २०५६ सालमा नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेको जिल्ला सचिवालय कमिटीको सदस्य, माधवकुमार नेपाल प्रधानमन्त्री भएकाबेला रौतहटबाट नेपालको राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए ।

वाणिज्यशास्त्रमा स्नातक गरी २०३४ सालमा नेविसंघबाट राजनीति थालेका, २०३७ सालमा नेविसंघको महोत्तरी जिल्ला सचिव, २०३९ सालमा स्ववियू सचिवमा बिजयी, कांग्रेसको महासमिति र महाधिबेशन प्रतिनिधिमा धेरैपटक चयन भएका लालबाबु यादव गएको भदौ १२ गते प्रचण्डको हातको टीका लगाएर एमाओवादी भएका थिए । उनीले अहिले एमाओवादीको तर्फबाट महोत्तरी क्षेत्र नम्बर २ बाट टिकट पाएका छन् ।

२०३६ सालदेखि नेपाली काँग्रेसमा क्रियाशिल मो. रजीद हैदर उम्मेदवारी दिँदाको अघिल्लो दिन प्रवेश गरेर पनि एमाओवादीले पत्यायो र उनले महोत्तरी ५ बाट टिकट पाए । नेपाली काँग्रेसका मोरङ्ग निर्वाचित सचिव बाबुराजा ओझा एकमहिना अघि एमाओवादीमा प्रवेश गरेर त्यही क्षेत्र मोरङ्ग क्षेत्र नम्बर ५ बाट उम्मेदवार बने । त्यस्तै २०५१ सालदेखि नेविसंघमा अवाद्ध भएर सकृय राजनीति गरेका युवाहरुका बीच लोकप्रीय नेताले कांग्रेस त्यागेको छोटो समयमै माओवादीको विश्वास जिते र रौटहटबाट टिकट पाए ।

Urmila-Aryalकाँग्रेस मात्र होइन एमाले परित्याग गरेर एमाओवादीमा प्रवेश गरेकाहरुले पनि मन अमिलो बनाउनु परेन । एमाले छोडेका रामचन्द्र झा (धनुषा १), उर्मिला अर्याल (पर्सा ५) बाट प्रत्यक्ष तर्फ लड्दैछन् भने एमालेबाट एमाओवादीमा प्रवेश गरेका लक्की शेर्पा, महेन्द्र पासवान, ल्याहारकाल लामाले समानुपातिकमा आफ्नो नाम लेखाउन सफल भए ।

यसरी पार्टी प्रवेश गरेको छोटो सममै एमाओवादीले उनीहरु माथि विश्वास गरेको छ । कतिपयले पैसा खर्च गर्न सक्नेहरुलाई माओवादीले भित्र्यायो भन्ने आरोप पनि नलाग्ने गरेको होइन । छोटो समयमा पार्टीमा भिज्न नसकेको अवस्थामा एमाओवादीले नयाँहरुलाई धेरै विश्वास गरेको छ । यो उसको फराकिलो छाति हो वा लालच ! अनि विश्वासको फल विजय हुन्छ कि पराजय यो भने चुनावी नतिजाले नै देखाउनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us