सिरहा बन्द,ठाउँ ठाउँमा बम

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते २:५४ मा प्रकाशित

prachanda_communist_fistकाठमाण्डु, ८ कात्तिक–सिरहाको उत्तरवर्ती गाविसको छुट्टाछुट्टै ठाउँमा बम फेला परेको छ । सिरहाको जमदह–३ स्थित सरस्वती माध्यमिक विद्यालयको परिसर र मुक्सार–३ स्थित एमाओवादीको गाउँ इकाई कमिटीको कार्यालयमा बम फेला परेको हो । जमदह स्कुलमा कालो प्लास्टिकको झोलाभित्र रहेको उक्त सकेट बम ६ इन्च लम्बाइको रहेको प्रहरीले जनाएको छ । मुक्सारस्थित एमाओवादीको गाउँ इकाई कमिटीको कार्यालयमा राखिएको बम कुन हो भन्नेबारे प्रहरीले अहिलेसम्म केही भन्न सकेको छैन ।

बम फेला परेको स्थानमा कालो झन्डासमेत राखिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक बिमल पराजुलीले जानकारी दिए । बम कसले राखेको हो भन्ने विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन ।

मुक्सार र जमदह गाविसमा घरदैलो कार्यक्रम सकाएपछि बम फेला परेको स्कुलमा आज दिउँसो ५ बजे एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

यसैबीच, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरदैलो कार्यक्रमका लागि सिरहा आउने पक्का भएपछि वैद्य नेतृत्वको नेकपा–माओवादीले एकदिने जिल्ला बन्द घोषणा गरेको छ । प्रचण्ड सिरहा क्षेत्रनम्बर ५ का उम्मेदवार पनि हुन् ।

माओवादी सिरहा इन्चार्ज जितेन्द्र सिंहले विज्ञप्ति जारी गरी बन्दको घोषणा गरेका हुन् । बन्दको घोषणा गरे पनि पूर्वपश्चिम राजमार्ग लगायतका जिल्लाका मुख्य सडकखण्ड र बजारमा बन्दको असर परेको देखिँदैन ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिरहाको सुरक्षा व्यवस्थामा कडाइ गरेका छन् । चुनावको विरोधी पक्षले बन्दको घोषणा र अध्यक्ष प्रचण्ड आउने कार्यक्रमस्थलमा बम फेला परेपछि सुरक्षा व्यवस्था कडा गरिएको सिरहा प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको धरानस्थित एमाओवादी कार्यालयमा शुक्रबार विहान बम फेला परेको छ । बम राख्ने समूहको पहिचान भएको छैन । बम निष्कृय पार्न नेपाली सेनाको टोली खटिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us