ड्रोन हमला रोक्न अमेरिकालाई पाकिस्तानको आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते ४:४६ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक–पाकिस्तानका राष्ट्रपति नवाज शरिफले अमेरिकालाई पाकिस्तानमा ड्रोन आक्रमण बन्द गर्न आग्रह गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ र अमेरिकी राष्ट्रपति बराक ओबामाबीच ९० मिनेट लामो भेटवार्ता पछि आयोजीत संयुक्त पत्रकार सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन् ।

आफूले पाकिस्तानमा भईरहेका ड्रोन आक्रमणबारे ओबामासँग छलफल गरेको र यस्ता आक्रमण रोक्न समेत आग्रह गरेको उनले बताए । अमेरिकी राष्ट्रपति ओबामाले भने आफ्नो सम्बोधनमा ड्रोन आक्रमण वा नवाज सरिफको आग्रहबारे कुनै टिप्पणी गरेनन् । ओवामाले पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा प्रतिकुल असर पार्ने सुरक्षा चासोलाई सम्बोधन गर्ने भने बताए ।

अमेरिकाले पाकिस्तानको विभिन्न क्षेत्रमा गर्ने ड्रोन आक्रमणले अमेरिका र पाकिस्तानबीचको सम्बन्धमा चिसोपन ल्याएको छ । अमेरिकाले यस्ता आक्रमणहरु आतंकवादीहरुमाथि लक्षित हुने गरेको दावी गर्दै आएको छ भने पाकिस्तानले यस्ता आक्रमणमा आम सर्वसाधारण मारिने गरेको जनाएको छ । पाकिस्तानको सार्वभौमिकतालाई वेवास्ता गर्दै अमेरिकाले आफूखुसी पाकिस्तानी भुमिमा आक्रमण गरेको भन्दै पाकिस्तानमा अमेरिकाको ब्यापक विरोध हुने गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्रीसँग भेट पछि ओभल अफिसमा पत्रकारहरुलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ओबामाले आतंकवाद विरुद्धको लडाई सहज नभएको बताए । अमेरिकी राष्ट्रपतिले पाकिस्तान र अमेरिकाबीचको सहकार्यले अफगानिस्तानकोलागि हितकारी उपलब्धी हासिल गर्न सकिने बताउँदै सहकार्य पाकिस्तानको दीर्घकालिन सुरक्षा चासोलाई समेत सहयोगी हुने बताए । पाकिस्तान र भारतबीचको कश्मिर विवादमा शान्तिपूर्ण समाधान चाहेकोमा पाकिस्तानी प्रधानमन्त्री शरिफको अमेरिकी राष्ट्रपतिले सह्राना समेत गरे । ओबामाले आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानबीच सम्बन्ध सुधारमा पनि जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us