चुनावमा जिम्मेवारी पूरा नगर्ने कर्मचारीमाथि कारबाही: रेग्मी

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ११:०२ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले चुनावमा जिम्मेवारी पूरा नगर्ने कर्मरीमाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

khilraj regmiसिंहदरबारमा बुधबार भएको एक कार्यक्रममा उनले निर्वाचनमा गम्भीरतापूर्वक नखटिनेमाथि विभागीय कारबाही हुने चेतावनी दिएका हुन् । उनले मन्त्रीदेखि सचिव र कर्मचारीसम्मलाई सरकारको योजनाअनुसार निर्वाचन कार्यक्रममा खटिन निर्देशन दिए ।

‘संविधानसभा निर्वाचन स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने काममा लाग्न सबैलाई निर्देशन दिन्छु’, रेग्मीले भने, ‘काममा हेलचेक्र्याईं गर्नेमाथि विभागीय कारबाही हुन्छ ।’

उनले सबै दल, नागरिक अगुवा तथा सबै वर्ग र क्षेत्रका जनतालाई पनि निर्वाचन सफल पर्ने काममा लाग्न अपिल गरे । उनले सरकारले निर्वाचन सुरक्षाका लागि देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा भरपर्दो व्यवस्था मिलाएको दाबी गरे ।

रेग्मीले निर्वाचन बिथोल्न कानुनविपरीतका गतिविधि गर्नेलाई सरकारले नछाड्ने चेतावनी पनि दिए । उनले निर्वाचनका बेला दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सुचारु गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us