काठमाण्डु, ६ कात्तिक–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसवर्षे जनयुद्धबाट संविधानसभा सम्भव भएकाले यसलाई जसरी भए पनि सफल पार्नुपर्ने बताएका छन् । एमाओवादीको संघर्षको बलमा संविधानसभा निर्वाचन हुन लागेकाले जनताले पनि एमाओवादीलाई पनि चुनावमा जिताउने उनको विश्वास छ ।
काठमाण्डु क्षेत्रनम्बर १० अन्तरगत कीर्तिपुरमा वुधबार विहान घरदैलो कार्यक्रममा सहभागी प्रचण्डले पत्रकारसँग कुरा गर्दै भने, ‘संविधानसभा चुनावकालागि माओवादीले सबैभन्दा ठूलो त्याग गरेको कुरा जनताले राम्रोसँग बुझेका छन्, त्यसैले अगामी चुनावमा जनताले हामीलाई नै जिताउनेछन् ।’
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र उत्पीडितलाई अधिकार दिने एजेण्डा एमाओवादीकै नीति भएको र काँग्रेस–एमालेलगायत संसदीय दल पछि मात्रै सहमतिमा आएको उनको भनाइ थियो । ‘काँग्रेस–एमालेलाई जनताले पत्याएका छैनन्, उनीहरु हारिसकेका छन्, देशलाई समृद्धिमा लैजाने पार्टी एमाओवादी नै हो भन्ने कुरा सबैलाई थाहा छ । त्यसैले आगामी चुनावमा एमाओवादीको बहुमत आउने निश्चित छ,’ उनले भने । काँग्रेस–एमालेलगायतका दल पहिचानसहितको संघियताको विरोधमा अझै पनि रहेकाले अग्रगमनका पक्षधर जनताले तिनीहरुलाई निर्वाचनमा पराजित गर्ने प्रचण्डको जिकीर थियो ।
संविधानसभाबाट नयाँ संविधान बनाउने ऐतिहासिक अवसरलाई सदुपयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।