सुधन गुरुङमाथिको छानबिन सकेर समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाण्डु टुडे २०८३ जेठ २२ गते १५:५१ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ ।

छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले छानबिनको प्रक्रिया सकेर प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको जानकारी दिएका छन ।

उनले भने, ‘हाम्रो तर्फबाट सकेर प्रतिवेदन बुझायौं । अब बाँकी उतैबाट प्रक्रिया होला ।’ प्रतिवेदन ४५ पृष्ठको रहेको छ । समितिले गुरुङसँग बयानसमेत लिएको थियो ।

बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको उनले बताए ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

समितिले उनीमाथि लागेको आरोपका विषयमा सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरणसमेत केलाएर अध्ययन गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us