एउटा वडामा १३ मतदाता

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ४:०४ मा प्रकाशित

चौतारा, ६ कात्तिक–सिन्धुपाल्चोकको शिखरपुर गाविस–३ मा १३ जना मात्र मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने मेलम्चीसँग सिमाना जोडिएको सो वडामा महिला आठ र पुरुष पाँच गरी जम्मा १३ जना मात्र मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

त्यसैगरी सोही निर्वाचन क्षेत्रमा पर्ने थाङपालकोट गाविस–९ चिलाउने गाउँमा जम्मा २८ जना मतदाता रहेका छन् । २०५४ सालको स्थानीय निर्वाचनमा शिखरपुर वडा नम्बर ३ मा १७ र थाङपालकोटको वडा नम्बर ९ मा ३१ जना मतदाता थिए । तर, फोटोसहितको मतदाता नामावलीमा नागरिकताको प्रमाणपत्रका आधारमा परिचयपत्र बनाइने हुँदा पहिलेको भन्दा मतदाता घटेको निर्वाचन कार्यालयले जनाएको छ ।

सुरुमा रामपुर र सिम्ले दुई गाउँ रहेको सो वडामा पञ्चायतकालमा रामपुर गाउँ छिमेकी ज्यामिरे गाविसमा गाभिएको र अन्य व्यक्ति पनि बसाइँ सरेकाले हाल त्यहाँ चार–पाँच घर मात्र रहेकाले मतदाता संख्या घटेको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us