समानुपातिक उम्मेदवारको बन्दसूची आज सार्बजनिक हुने

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ६:१० मा प्रकाशित

nirbachan-aayogकाठमाण्डु, ६ कात्तिक । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारहरुको अन्तिम सूची बुधबार सार्बजनिक गर्ने भएको छ । दलहरुले बुझाएका उम्मेदवारहरुको बन्दसूची हेरफेर गर्ने समयसीमा मंगलबार साँझ ५ बजे सकिएको थियो ।

निर्बाचन आयोगका प्रवक्ता बीरबहादुर राईले समानुपातिक उम्मेदवारहरुको सूचीलाई एकपटक फेरि रुजु गरी बुधबार सार्बजनिक गर्ने जानकारी दिए । उनका अनुसार सूची सार्बजनिक भइसकेपछि फेरि फेरवदल गर्न पाइने छैन ।

समानुपातिक तर्फ ३ सय ३५ सिट छुट्टाइएको छ । यही नामावली मध्येबाट दलहरुले निर्बाचनमा पाएको मत प्रतिशतको आधारमा समानुपातिक उम्मेदवार चयन गर्नेछन् । संविधानसभा चुनाव आउन अब २७ दिन बाँकी छ ।

एमालेमा विवाद

यसैबीच समानुपातिक तर्फका उम्मेदवारको नामावलीको बिषयलाई लिएर नेकपा एमालेमा विवाद चर्किएको छ । नेता केपी ओलीले आफ्ना पक्षका उम्मेदवारहरुको नाम पार्टी अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधव नेपाल लगायतले हटाएको भन्दै आपत्ति जनाएका छन् । उनले यसबारे छलफल गर्न तत्काल पार्टीको बैठक बोलाउन माग गर्दै विरोध पत्र बुझाए पनि त्यसको सुनुवाइ भने भएको छैन ।

यसैगरी जिल्लाबाट सिफारिसमा नपरेका व्यक्तिलाई पनि समानुपातिक उम्मेदवार बनाइएको भन्दै एमाले कार्यकर्ताहरुले मंगलबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय बल्खु र नवलपरासीको गैंडाकोटमा नाराबाजी सहित प्रदर्शन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us