एमाओवादी उम्मेदवारको गाडीमा आगजनी

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते २:०१ मा प्रकाशित

पोखरा, ६ कात्तिक–कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा एकीकृत नेकपा माओवादीका उम्मेदवार विष्णु पौडेलले चुनाव प्रचारप्रसारका लागि प्रयोग गर्दै आएको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

चुनाव प्रचारप्रसारको क्रममा सिद्ध गाविस पुगेका पौडेलले प्रयोग गरेको ग १ च ५१४३ नम्बरको बोलेरो जिपमा बुधबार विहान करिब सवा चार बजेतिर आगजनि भएको हो । सिद्ध गाविसको वडानम्बर ६ स्थित निबुवास्वाँरामा पार्किङ गरेर राखेको जिप जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिपमा राखिएका प्रचार सामग्रीहरु समेत जलेका छन् ।

उम्मेदवार पौडेलले आगजनीमा काँग्रेस–एमालेको हात भएको आरोप लगाए । ‘देशव्यापी रुपमा एकीकृत माओवादीको लहर देखेपछि चुनावमा पराजित हुने डरले काँग्रेस, एमालेले यस्तो हतकण्डा अपनाएका हुन्,’ उनले भने, ‘आगजनी गर्न ध्वंसात्मक तरिका नपनाई परालको प्रयोग हुनुले पनि उक्त आगजनी संसदवादी पार्टीले नै गरेको थाहा हुन्छ ।’ उनले घटनाको निष्पक्ष छानविन गर्न माग समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us