निर्वाचन आचारसंहिता पालना गर्न आयोगबाट ध्यानाकर्षण

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते १४:०२ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक – निर्वाचन आयोगले प्रत्येक मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन election_commissionअधिकृतको कार्यालयमा एक–एकजना शाखा अधिकृतस्तरको आचारसंहिता अनुगमन अधिकृतको व्यवस्था गरेको छ ।

जिल्लास्तरमा आचारसंहिता कार्यान्वयनको स्थितिको अनुगमन गर्न र त्यसको उल्लङ्घन भएको अवस्थामा कारबाहीलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले सो व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता वीरबहादुर राईले सो व्यवस्थाका लागि सबै मुख्य निर्वाचन अधिकृत तथा अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा परिपत्रसमेत गरिएको जानकारी दिए ।

आयोगले अर्को संविधानसभाको निर्वाचनका लागि साउन ७ गतेदेखि आचारसंहिता कार्यान्वयनमा ल्याएको थियो । आचारसंहिता कार्यान्वय स्थितिको प्रभावकारी कार्यान्वयनका लागि आयोगमा आयुक्त डा अयोधीप्रसाद यादवको संयोजकत्वमा आचारसंहिता समिति गठन गरिएको छ ।

आयोगले आचारसंहिता अनुगमन अधिकृतलाई आफ्नो जिल्लामा घटेका आचारसंहिता उल्लङ्घनका घटना र त्यस घटनाको सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतबाट भएको काम कारबाहीको विवरण दैनिक रुपमा निर्वाचन अधिकृतसँग समन्वय गरी जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा रहेको आचारसंहिता कार्यान्वयन इकाईमा उपलब्ध गराउन पत्राचारसमेत गरेको छ ।

प्रवक्ता राईले आचारसंहिता उल्लङ्घनका घटना बारम्बार घटिरहने जिल्लामा आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक भएको वा आयोगले उपयुक्त ठानेका जिल्ला निर्वाचन कार्यालयमा आचारसंहिता अनुगमन गर्न थप अनुगमन अधिकृत खटाउन लागेको पनि जानकारी दिए ।

विविध कारणवश स्थानीय तहमा कारबाही हुन नसकेको आचारसंहिता उल्लङ्घनका घटनाका सम्बन्धमा आचारसंहिता अनुगमन अधिकृतले निर्वाचन अधिकृतसँग समन्वयन गरी जिल्ला निर्वाचन कार्यालयमार्फत आफ्नो राय तत्कालै  आयोगमा पठाउन पनि आयोगले व्यवस्था मिलाएको उनले बताए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न आचारसंहिता महत्वपूर्ण कडीका रुपमा रहेको भन्दै आयोगले यसको प्रभावकारी कार्यान्वयनको लागि सम्बन्धित पक्षसँग आग्रहसमेत गरेको छ । प्रवक्ता राईले आचारसंहिता उल्लङ्घनका घटना अत्यन्त न्यून देखिएको जानकारी पनि दिए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us