
काठमाण्डु, ५ कात्तिक – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे सशस्त्र युद्धको प्रमुख नेतृत्वकर्ताको हैसियतिले तत्कालीन समयमा भएका सबै घटनाको नैतीक जिम्मेवारी आफूले लिने दोहोर्याएका छन् ।
काठमाण्डुमा जारी गैरआवासीय नेपाली संघ एनआरएनको विश्व सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले त्यतिखेरका सबै गल्तीको भागिदार बन्न आफू तयार रहेको बताए ।
उनले गल्ती प्रमाणित भए आफू झुण्डिन तयार रहेको बताए । द्वन्द्वकालमा भएका सबै घटनाको जाँचबुझ सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको व्यवस्था गरिएकाले त्यतिखेरको मुद्धाको टुंगो आयोगमार्फत नै लगाउनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा उनले संविधान निर्माणपछि मुलुकको प्राथमिक एजेण्डा आर्थिक विकास र समृद्धि भएको बताए । उनले विदेशमा सिकेको ज्ञान, सिप र क्षमता नेपालको विकासमा खर्चन गैरआवासीय नेपालीलाई अपिलसमेत गरे ।