
काठमाण्डु, ५ कात्तिक– नेपाल प्रहरीले निर्वाचन बहिस्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका गतिविधिमाथि उच्च निगरानी राख्न थालेको छ । संविधानसभा निर्वाचनका उम्मेदवार र चुनाव प्रचार टोलीमाथि आक्रमण थालेपछि वैद्य माओवादीमाथि निगरानी बढाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रहरी प्रवक्ता डिआईजी नवराज सिलवालले वैधपक्षीय माओवादीका गतिविधिलाई निगरानीमा राखेको स्वीकार गरे । ‘कानुन उलंघन गर्ने खालका गतिविधिलाई रोक्न नेपाल प्रहरी सदैव कटिबद्ध छ, कानुन विपरितका गतिविधि गर्न कसैलाई पनि छुट छैन’, सिलवालले भने, ‘वैद्य पक्षीय माओवादीका गतिविधिलाई हामीले निगरानीमा राखेका छौं ।’ चुनावी वातावरण विथोल्ने वा उम्मेदवारलाई चुनाव प्रचार–प्रसारमा रोक लगाउन खोज्नु कानुनविपरीतको काम भएको सिलवालले बताए ।
चुनाव विथोल्न खोज्ने जो कोहीलाई पनि नियन्त्रणमा लिने अधिकार एकीकृत सुरक्षा योजनाअन्र्तगत पर्ने सिलवालको भनाइ छ । उनले भने,‘चुनाव बिथोल्ने अधिकार कसैलाई पनि छैन । उम्मेदवारलाई प्रचार–प्रसारमा रोक लगाउनु कानुन उलंघन हो ।
यो अवस्थामा एकीकृत सुरक्षा योजना अन्तर्गतका सबै सुरक्षा अंगले यस्ता गतिविधिलाई रोक्न सक्छ ।’ उनका अनुसार सम्वन्धित प्रमुख जिल्ला अधिकारीको आदेशमा नेपाली सेनासमेत यस्ता गतिविध नियन्त्रणमा परिचालित हुनसक्ने छ ।
सशस्त्र प्रहरी पनि वैद्यपक्षीय माओवादीको क्रियाकला निगरानीमा लागि परेको छ । सशस्त्र प्रवक्ता डिआईजी सिंहबहादुर श्रेष्ठले कानुनविपरीत गतिविधि गर्नेमाथि निगरानी गर्नु सामान्य कुरा रहेको बताए । उनले भने,‘जसले कानुनविपरीत गतिविधि गर्छ त्यसो सूचना संकलन गर्नु, गतिविधि निगरानी गर्नु, नियन्त्रण लिनु त सामान्य प्रक्रिया हो । त्यसैले सशस्त्र प्रहरी यस कार्यमा लागेको छ ।’
को–को छन् उच्च निगरानीमा ?
उच्च सुरक्षा स्रोतका अनुसार अध्यक्ष मोहन वैद्यसहित अधिकांश नेता प्रहरी र गुप्तचरको निगरानीमा छन् ।
उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिवद्वय देव गुरुङ र नेत्रविक्रम चन्द, प्रवक्ता पम्फा भुसाल, नेताहरू हितमान शाक्य, खड्गबहादुर विक, हरिभक्त कँडेल, पम्फा भुसाललगायत प्रहरी निगरानीमा छन् । उनीहरुको निवास र पार्टी कार्यालय वरिपरि उच्च सुरक्षा निगरानी बढाइएको प्रहरी स्रोत बताउँछ ।
वैद्य माओवादीका नेताहरुसँग भेटघाट गर्ने तथा टेलिफोनमा कुराकानी गर्नेहरु समेत निगरानीमा छन् ।