
कञ्चनपुर, ५ कात्तिक–अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुको मतदानमा पहुँच पुर्याउने उद्देश्यले कञ्चनपुरका तीन मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियर गुडाएर पुग्न सक्ने गरी र्याम्प निर्माण गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँका निर्वाचन क्षेत्र नं २ को कृष्ण उच्च माध्यमिक विद्यालय गुलरिया मतदान केन्द्र, निर्वाचन क्षेत्र नं ४ को शान्ति निकेतन उच्च माध्यमिक विद्यालय मतदान केन्द्र र सोही निर्वाचन क्षेत्रको महेन्द्रनगर उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा ¥याम्पसहितको अपाङ्गमैत्री निर्वाचन केन्द्र निर्धारण गरिएका हुन् ।
अपाङ्गता भएका व्यक्तिहरुलाई अन्य मतदाताझै मतदान केन्द्रहरुमा पुग्न सक्ने अवस्था नरहने भएका कारण ¥याम्प निर्माण गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराईले बताए ।
देशभरका ५० वटा निर्वाचन केन्द्रलाई निर्वाचन आयोगले अपाङ्गमैत्री बनाएको छ । अन्य मतदान केन्द्रहरुमा समेत अपाङ्गता भएका व्यक्तिहरु, अशक्त, वृद्धवृद्धालगायतलाई समेत मतदान केन्द्रमा लाइनमा नबसी सहजै मतदान गर्न सक्ने विशेष व्यवस्था मिलाइएको छ ।