वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘डिम्ड युनिभर्सिटी’को मान्यता

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते ३:०८ मा प्रकाशित

BP-Koirla-Dharanकाठमाण्डु, ५ कात्तिक– सरकारले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियम मिचेर मानित विश्वविद्यालय (डिम्ड युनिभर्सिटी)को मान्यता दिएको छ । प्रतिष्ठानको ऐन र नियमावलीमा मानित विश्वविद्यालयबारे कहिँकतै उल्लेख छैन । सरकारको यो निर्णयबाट प्रतिष्ठानसमेत असन्तुष्ट छ ।

यसअघि प्रतिष्ठानले विश्वविद्यालयको मान्यता लिन गरेको प्रयास सिनेट बैठकले अस्वीकार गरिदिएपछि नियम मिचेर मानित विश्वविद्यालयको मान्यता दिइएको हो । मानित विश्वविद्यालयले पनि विश्वविद्यालय सरहको अख्तियारी पाउँछन् । प्रतिष्ठान र मानित विश्वविद्यालयको हैसियत एउटै हुन्छ । तर, पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मानित विश्वविद्यालयको मान्यता प्रदान गर्नु रहस्यमय मानिएको छ ।

स्वास्थ्य मन्त्रालय सचिवस्तर निर्णयले प्रतिष्ठानलाई असोज २४ गते मानित विश्वविद्यालयको मान्यता दिएको थियो ।

प्रतिष्ठानका उपकुलपति डा. बलिभद्र दासले प्रतिष्ठानको नियमावली २०५५ को परिच्छेद २ को ७ मा स्वास्थ्य शिक्षासम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान गर्न स्वदेशी तथा विदेशी विश्वविद्यालय, महाविद्यालय र संस्थाहरुलाई सम्बन्धन प्रदान गर्ने उल्लेख गरेकाले विश्वविद्यालयको मान्यता पाउनु पर्ने बताए । उनले प्रतिष्ठान विश्वविद्यालयमा जान सबै कुरामा सक्षम रहेको दावी समेत गरेका छन् । –स्वास्थ्य खबर पत्रिकाको अनलाइन संस्करणबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us