खोक्रो आदर्शको पुलिन्दा होइन प्रतिबद्धतापत्र

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ३:५१ मा प्रकाशित
हाम्रो पार्टीको प्रतिबद्धतापत्र कुनै संसदीय राजनीति गर्ने पार्टीले तयार पारेको खोक्रो आदर्शको पुलिन्दाजस्तो होइन । कुनै पनि हालतमा, कुनै पनि उपायले निर्वाचन जित्ने उद्देश्य राखेर गरिने घोषणा र आश्वासनको कुनै काम पनि छैन । हाम्रो प्रतिबद्धतापत्र नामकरणमै अरूभन्दा भिन्न छ । यसभित्र विषयवस्तुलाई जसरी प्रस्तुत गरिएको छ, त्यो पनि अरूभन्दा मौलिक र फरक विशेषतासहितको छ । यसमा विगतमा हामीले के भन्यौँ र के गर्‍यौँ भन्ने गहिरो समीक्षा पनि गरेका छौँ । हामीले यो प्रतिबद्धतापत्रमा आमजनताप्रति इमानदार बन्ने गहिरो प्रतिज्ञा र संकल्प मात्र गरेका छैनौँ वैज्ञानिक र क्रान्तिकारी बन्ने आत्मविश्वास पनि प्रस्तुत गरेका छौँ । म यो विश्वास तपाईंहरूसँग ‘सेयर’ गर्न चाहन्छु ।हामीले यो प्रतिबद्धतापत्रमा आजको देश र जनताको दुरवस्थाबाट मुक्ति प्राप्त गर्ने उपायको खोजी गरेका छौँ । विगतका आन्दोलन, युद्ध र बलिदानबाट हासिल गर्न खोजेको अवस्थामा देशलाई लैजाने मार्गचित्र प्रस्तुत गरेका छौँ । यसो गर्दा हामी हजारौँ सहिदहरूको रगत र विश्वको सबैभन्दा वैज्ञानिक सिद्धान्तको आलोक, दिग्दर्शनप्रति इमानदार भएका छौँ । त्यसैगरी जनयुद्ध, जनआन्दोलन, मधेसी, मुस्लिम, जनजाति, विकट क्षेत्रका जनताको आन्दोलनहरूको मूल मर्मलाई पनि आत्मसात् गर्न पूरै कोसिस गरिएको छ । यसमा हामी यो देशलाई कसरी अगाडि बढाउन चाहन्छौँ भन्ने प्रस्ट भिजन र खाका प्रस्तुत गरेका छौँ । हामीले यसको निर्माणको क्रममा यो बढीभन्दा बढी वस्तुवादी होस्, मनोगतवादी नहोस्, कार्यान्वयन नै गर्न नसकिने महत्त्वाकांक्षी योजना पनि नबनोस् भनेर त्यत्तिकै ध्यान दिइएको छ । हामीलाई विश्वास छ, २००७ सालदेखि यता भएका सबै आन्दोलन र संघर्षमा जनताद्वारा अभिव्यक्त भावनाको यसले प्रतिनिधित्व गरेको छ ।

हामीले हाम्रो पार्टीको यो प्रतिबद्धतापत्रमा प्रस्ट रूपमा आगामी पाँच, दस, बीस र चालिस वर्षमा हाम्रो कार्ययोजना के हो भन्ने कुराको भिजनसहित खाका प्रस्तुत गरेका छौँ । यसो गर्न हामीलाई जिम्मेवारी पनि इतिहासले दिएको छ । यो कार्यान्वयन गरेर जाने प्रतिज्ञा पनि हामीले नै गर्नुपरेको छ किनकि आज नेपाल परिवतर्नको जुन प्रक्रियामा छ, ती हाम्रो पार्टीका एजेन्डाका कारण भएका हुन् । हाम्रो पार्टीका एजेन्डा जसरी राष्ट्रका एजेन्डा बनेका छन्, तिनलाई स्थापित गर्न नेतृत्वदायी भूमिका हाम्रो पार्टीले खेलेको हो । लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिकता यी सबै मुख्य रूपमा दशवर्षे जनयुद्धको बलमा स्थापित भएका हुन् । त्यसकारण एकीकृत माओवादीलाई देशको नेतृत्व गर्ने हक छ । यो राष्ट्रको अहिलेको घडीमा नेतृत्व गर्ने वास्तवमा ठूलो चुनौती हो । तर, हामीले त्यो चुनौतीको सामना गर्नु नै छ । हामीले इतिहासको यो कालखण्डमा यो राष्ट्रलाई एकताबद्ध गराउने, जनताको परिवतर्नको चाहनालाई संस्थागत गर्ने र एउटा समृद्ध नेपाल निर्माण गर्ने जिम्मेवारी दिएको महसुस भएको छ । त्यही अनुभूतिको तीव्रताभित्र रहेर यो प्रतिबद्धतापत्र तयार पारिएको छ ।

नेपालमा लामो समयसम्म झुटा आश्वासन, फोहोर क्रियाकलाप, तुच्छ षड्यन्त्रद्वारा चल्ने संसदीय व्यवस्था रह्यो । संसदीय राजनीतिले जनताको पक्षमा काम गर्दैन । त्यसले जनताको हितमा सोच्दैन बरु धोका, भ्रम र विश्वासघात मात्र दिन्छ । यो व्यवस्था आमजनताको हितमा छैन भन्ने कुरा सयौँ वर्षदेखि विश्वको इतिहासमा पनि पुष्टि भइसकेको छ । हामीले त्यसलाई बदल्न चाहेका छौँ । केही त बदलेका पनि छौँ । हामी अहिले सामन्तवादविरुद्ध साम्राज्यवादविरुद्ध संर्घषको पुँजीवादी क्रान्तिको प्रक्रियामा छौँ । विश्वका कैयन देशमा पुँजीवादी क्रान्तिको नेतृत्व संसदीय बुुर्जुवा शक्तिहरूले गर्ने गरेका छन् । हामीले भारतको इतिहास नै हेर्‍यौँ भने बुर्जुवा पुँजीवादी क्रान्तिको नेतृत्व त्यहाँको संसद्वादी पार्टीले गर्‍यो । त्यतिवेला कम्युनिस्टहरूले पुँजीवादी क्रान्तिको नेतृत्व लिने साहस नगर्दा, उल्टै साम्राज्यवादीसँग मिल्न खोज्दा अहिलेसम्म कम्युनिस्टहरूको स्थिति अझै पनि कमजोर छ । इतिहासका ती र त्यस्ता घटनाबाट पाठ सिकेर सामन्तवादविरोधी, साम्राज्यवादविरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्नुपरेको छ । नेपालमा पुँजीवादी क्रान्तिको नेतृत्व गरेकाले नै जनताले हामीलाई अघिल्लो निर्वाचनमा महत्त्वपूर्ण जिम्मेवारी दिएकै हो ।

शान्तिप्रक्रियामा आएपछि संविधानसभा, सरकारको नेतृत्व तथा अन्य विभिन्न संघर्षबाट प्राप्त अनुभवलाई संश्लेषण गर्दै अघिल्लो संविधानसभाको निर्वाचनमा प्रस्तुत प्रतिबद्धतामा परिमार्जन गरिएको छ । कमरेड बाबुराम भट्टराई नेतृत्वको टिमले असाध्यै मिहिनेतका साथ, विभिन्न क्षेत्रका विज्ञ एवम् जनतासँग व्यापक छलफल गरेर यो तयार गरेको हो ।

हामी माओवादीलाई बुर्जुवा पार्टीहरूले पटकपटक आफूले प्रतिबद्धता गर्ने गरेको कुरा कार्यान्वयन गर्ने नगरेको, कुरा फेर्ने गरेको आरोप लगाउने गरेका छन् । तर, यो सर्वथा गलत छ, हामीले विगतमा गरेका सबैजसो बाचा र प्रतिबद्धता कार्यान्वयन गर्दै आएका छौँ । हामीले जनयुद्धमा हुँदा संविधानसभाको निर्वाचनमा सहमत भए नेपाली जनताको सार्वभौम अधिकारलाई लागू गरिन्छ भने शान्तिप्रक्रियामा आउँछौँ भनेका थियौँ, दुनियाँलाई थाहा छ, हामी हाम्रै प्रतिबद्धतामा कायम भयौँ । हामीले नेपाली जनताको शान्ति र समृद्धिको चाहनाको सम्मान गर्दै शान्तिप्रक्रिया टुंग्याउन सहमत भयौँ । यसले माओवादी पार्टी जनता, राष्ट्र र आफ्नो प्रतिबद्धताप्रति सबभन्दा इमानदार पार्टी हो पुष्टि गर्छ । हामीमाथि आरोप लगाउनेहरू कहिल्यै आफ्नो विचारप्रति, राष्ट्रपति इमानदार नरहने, जनताप्रति कहिल्यै जवाफदेही नहुने शक्ति र वर्ग हुन् । मेरो नेतृत्वको सरकार हुँदा ल्याइएको पहिलो नीति र कार्यक्रम कसैले पल्टाएर हेर्‍यो भने अघिल्लो प्रतिबद्धतापत्रमा भनेजस्तै पाउनेछ ।

तर, दु:खको कुरा हामीले ल्याएको नीति तथा कार्यक्रमअनुसार काम गर्न दिइएन । हामीसँग बहुमत थिएन । त्यसैले हामी आमजनतासँग हामीलाई पूर्ण बहुमत दिन अपिल गरिरहेका छौँ । अपार प्राकृतिक स्रोतसाधन हुँदाहुँदै पनि देशलाई कंगाल बनाउने प्रतिगामी र यथास्थितिवादी शक्तिहरूको हामीलाई काम गर्न नदिने जुन उपस्थिति हुनगयो, त्यसले हामीलाई काम गर्न दिएन । त्यो बाध्यतालाई बुझेर यसपटक जनताले विचार पुर्‍याउनुपर्ने अवस्था छ । यसपटक न्यायप्रेमी, परिवर्तनकामी, समतामूलक समाजको स्थापना गर्न चाहने जनताले त्यो स्थिति दोहोरिन दिनुहुँदैन । परिवर्तनकारी पक्षमा स्पष्ट बहुमत चाहिन्छ । अनि मात्र जनपक्षीय, परिवतर्नकारी तथा अग्रगामी नीति कार्यान्वयन गर्न सकिन्छ ।

आफ्नो प्रतिबद्धताअनुसार यो देशलाई संघीय गणतन्त्रमा डोर्‍याउन माओवादीले साहस गरेको हो । हामी अहिले पाँच, दस र बीस वर्षका कार्ययोजना ल्याएर देशलाई नयाँ स्थानमा पुर्‍याउन सक्छौँ । राष्ट्रिय महाधिवेशन गरेर हामीले उत्पादन र निर्माणका लागि संघर्ष गर्ने राजनीतिक कार्यदिशा निर्माण गरिससका छौँ । आमजनताका अगाडि पनि अहिले चुनौती छ । जनताका अघि परिवर्तन, स्थिरता र समृद्धिको बाहकलाई बहुमत दिएर समृद्ध नेपाल बनाउने कि कसैलाई पनि बहुमत नदिएर अस्थिर, अराजक, भयानक दुर्घटनातिर जाने अवस्था सिर्जना गर्ने भन्ने प्रश्न खडा छ । निश्चय पनि यो प्रतिबद्धतापत्र बनाउँदै गर्दा हाम्रा कमीहरूको पनि समीक्षा गरिएको छ । र, विगतमा भएका कमी सच्याउन हामी तयार भएका छौँ ।

नेपाली जनताका अगाडि फेरि एउटा अवसर प्राप्त भएको छ । नेपाली जनताका अगाडि राष्ट्रका मुद्दाहरूको फैसला गर्ने मौका प्राप्त भएको छ । यो मौकाको सही सदुपयोग हुन जरुरी छ । परिवर्तन, न्याय र समृद्धिको एजेन्डाको बाहक शक्तिलाई स्पष्ट बहुमत दिएर आउने पुस्ताका लागि एउटा नयाँ नेपाल दिएर जाने अवस्थाको सिर्जना गर्न आवश्यक छ । विगतका संसदीय निर्वाचनका क्रममा असाध्यै फोहोरी खेल हुने गरेका थिए । निर्वाचनका क्रममा हुने गलत परम्परालाई तोड्नु छ । यो राष्ट्रको भविष्यको स्पष्ट एजेन्डा भएको पार्टीलाई विजयी गराउनुपर्छ भन्ने सोच्ने वेला आएको छ । नेपाली जनताले सकारात्मक सोच्यो भने दुनियाँको कुनै पनि तागतले परिवतर्नको प्रक्रियालाई रोक्न सक्ने छैन । हामी राष्ट्रको जिम्मा लिने ढंगले आएका छौँ । हामी जस्तोसुकै चुनौतीको सामना गरेर भए पनि यो राष्ट्रलाई एकताबद्ध राख्ने, परिवर्तनलाई संस्थागत गर्ने, समतामूलक समृद्धि ल्याउने लडाइँमा हामी निरन्तर लागिरहनेछौँ । आमजनतामा हाम्रो यही अपिल र प्रतिबद्धता छ ।

(शनिबार राजधानीमा आयोजित पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा व्यक्त मन्तव्यमा आधारित । नयाँपत्रिका दैनिकबाट)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us