डा. भोला रिजालले पासाङलाई भने: तपाई चुनाव जित्नुस्

काठमाण्डु टुडे २०७० कार्तिक २ गते ११:२६ मा प्रकाशित

काठमाण्डु-एकीकृत माओवादीका पूर्वलडाकु प्रमुख एवम् काठमाण्डु–४ का उम्मेदवार नन्दकिशोर पुन ‘पासाङ’ शनिबार वरिष्ठ चिकित्सक भोला रिजालको चावहिलस्थित घर पुगे ।
vola-finalकान्छा छोरा दीपेशका साथ गएका उनको हातमा खादा थियो । पुनले आफूले लगेको खादा रिजालको गलामा लगाइदिए । त्यतिखेर दुवै भावुक देखिए । रिजालले पुनलाई आफ्नो जन्मदिनका अवसरमा घरमा बोलाएका थिए ।  रिजालले पुनलाई दुईपटकसम्म अंगालो मारे ।

‘त्यस्तो अवस्थामा देखेको मान्छेलाई यस्तो अवस्थामा देख्न पाइएलाजस्तो लागेको थिएन’ रिजालले भने । दुवै मृगौलाले काम गर्न छोडेका बेला एक वर्षअघि पुनले रिजालको ओम अस्पतालमा उपचार गराएका थिए ।

रिजालले पुनलाई संविधानसभा निर्वाचन जित्न शुभकामना दिए । उनले नेपालका धेरै नेताको आफूले उपचार गराए पनि पुनमा जस्तो उच्च मनोबल र राष्ट्रियताको भावना नदेखेको सुनाए । ‘मैले नेपालका धेरै नेताको उपचार गरेको छु’, रिजालको भनाइ उद्धत गर्दै पुनका छोरा दीपेशले भने, ‘तपाइंमा जस्तो मनोबल र राष्ट्रियताको भावना भएको नेता मैले देखिन ।’ दुवै मृगौलाले काम गर्न छाड्दा समेत उपचारका लागि विदेश जान पार्टी र परिवारबाट आएको दबाब पुनले अस्वीकार गरेका थिए ।

त्यतिखेर उनले आफू नेपालमै उपचार गराउने र मर्नुपरे पनि जन्मभूमिमै मर्ने बताएका थिए । रिजालले  टाउको दुख्दासमेत विदेश जाने नेपाली नेताहरुका लागि पुनले चुनौति दिएको बताए । उनले स्वदेशमै उपचार गराउने पुनको दृढताले आफूजस्ता धेरै नेपाली चिकित्सकको शीर ठाडो भएको सुनाए ।

जवाफमा पुनले रिजालको उपचारबाट आफूले पुनर्जीवन पाएको बताए । ‘पुनर्जीवन दिने मान्छेलाई भेटेर चुनाव जित्ने आशिर्वाद लिन आएको हु’, पुनले भने, ‘तपाइंले शुभकामना दिनुभयो । यो मेरो जितको शुभसंकेत हो ।’

उनीहरुबीच मुलुकको राजनीतिक अवस्था, चुनाव लगायत विषयमा करिब आधा घण्टाजति भलाकुसारी भएको दीपेशले बताए । रिजाललाई भेटेलगत्तै पुनले आफ्नो चुनावी अभियान शुभारम्भ गरे । अभियानको पहिलो दिन पुनले पैयांटारस्थित पार्टी वडा कार्यालयको उद्घाटन गरे । कार्यक्रममा कााग्रेस–एमाले लगायत दलबाट करिब एक सय कार्यकर्ता एकीकृत माओवादी प्रवेश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us