
काठमाण्डु, १ कात्तिक– राजेन्द्र महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी अध्यक्ष महतोले घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा तराई–मधेसमा बढीमा २ प्रदेशको प्रस्ताव गरिएको छ । सद्भावनाले चुनावी घोषणापत्रमा राज्य पुन:संरचना आयोगले गरेको १० प्रदेशको प्रस्तावअनुसार राज्य पुन:संरचना गर्नुपर्ने उल्लेख गरेको छ ।
अध्यक्ष महतोले आमसहमति भए मेचीदेखि महाकालीसम्म एक प्रदेश बनाउने र नभए नारायणदेखि पूर्व एउटा र पश्मितर्फ अर्को गरी दुई प्रदेश निर्धारण गर्न सकिने उल्लेख गरे । सदभावनाले शासकीय स्वरुपमा संसदीय प्रणाली अंगीकार गरेको छ ।
सद्भावनाले संसदको दुवै सदनबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको प्रस्ताव गरेको छ । तल्लो सदन १ सय ५१ सदस्यीय र माथिल्लो सदन २१ देखि १ सय १ सदस्यीय हुने घोषणा पत्रमा छ । उसले हिन्दीलाई सम्पर्क भाषा बनाउने प्रस्ताव घोषणपत्रमा गरेको छ ।