

म्याग्दी, १ कात्तिक–एकीकृत नेकपा (माओवादी)का नेता लोकेन्द्र बिष्टमगरले विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था उपयुक्त हुने बताएका छन ।शुक्रबार गुर्जा गाविसमा चुनाव प्रचारप्रसार अभियानअन्तर्गत आमसभामा बिष्ट मगरले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै जनताको अधिकार स्थापित गर्न नयाँ संविधान बनाउन एमाओवादीलाई मतदान गर्न आग्रह गरे ।
राज्य र जनताको दूरी कम गर्न राष्ट्रिय एकतासहितको भौगोलिक, ऐतिहासिक, भाषिक, जातीय र धार्मिक पहिचानको आधारमा सङ्घीयताको आवश्यकतामा उनले जोड दिए । उनले संविधान लेखन र जिल्लाको विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुका साथै मतदानमार्फत जिम्मेवारी दिन अपिल गरे ।
नेता विष्टले संसदीय व्यवस्थाका कारण नेपालको राजनीति वर्षौंदेखि सरकार ढाल्ने र बनाउने खेलमा केन्द्रित हुँदा विकासमा पछि परेको बताए । एमाओवादी म्याग्दीका जिल्ला संयोजक गोविन्द पौडेलले निर्वाचनमार्फत जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्न पनि एमाओवादीकै नेतृत्वको विकल्प नभएकाले जनताले एमाओवादीलाई साथ दिनुपर्ने बताए ।
कार्यक्रममा गुर्जाका बासिन्दाले गुर्जा र रुकुम जिल्लाको सीमा विवाद समाधान, अल्पसङ्ख्यक छन्त्याल समुदायको कला, संस्कृति संरक्षण, सडक र सञ्चार सुविधा तथा शैक्षिक विकाससम्बन्धी योजनाका लागि पहल गर्न नेताहरुको ध्यानाकर्षण गराएका थिए ।