
पोखरा, १ कात्तिक – सरकारले आसन्न संविधानसभा निर्वाचन सुरक्षाका लागि एक लाख १५ हजार प्रहरी परिचालन गर्ने भएको छ ।
सरकारले निर्वाचन सुरक्षाका लागि सशस्त्र र जनपद गरी एक लाख १५ हजार सुरक्षाकर्मी खटाउने भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनको बिहीबार पोखरामा उद्घाटन गर्दै गृहमन्त्री माधव घिमिरेले निर्वाचन सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन सरकार प्रतिबद्ध रहेको बताए ।
४ मंसिरको निर्वाचन सुरक्षार्थी सरकारले नेपाली सेनालाई बाहिरी घेरामा परिचालन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । मन्त्री घिमिरेले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उम्मेदवार, मतदाता तथा मतदान केन्द्रको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले त्यसका लागि सबै विकल्प अपनाइने जानकारी दिए ।
लोकतन्त्र सुदृढीकरणका लागि निर्वाचन नै एक मात्र विकल्प भएकाले निर्वाचन प्रक्रियामा असहमत दललाई पनि निर्वाचनमा आउने उनले आग्रह गरे ।