
अर्घाखाँची, १ कात्तिक– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।
अर्घाखाँचीमा शुक्रबार भएको एक कार्यक्रममा उनले संघीयता मुलुक टुक्र्याउने मुद्धा भएकाले त्यसलाई खारेज गरिनुपर्ने बताए । संघीयताकै कारण गत संविधानसभाबाट संविधान बन्न नसकेको उनको भनाइ थियो ।
केसीले जातीय संघीयता कुनै हालतमा स्वीकार्य नहुने भन्दै माओवादीले भनेजस्तो संघीयता मुलुकका लागि अफापसिद्ध हुने दाबी गरे । अध्यक्ष केसीले मुलुक टुक्र्याउन खोज्ने शक्तिलाई आसन्न संविधानसभा निर्वाचनमा जनताले परास्त गर्ने र राष्ट्रिय जनमोर्चा निर्णायक शक्तिका रुपमा स्थापित हुने बताए ।
अर्को एक फरक प्रसंगमा उनले प्रत्यक्षमा नयाँलाई पालो दिन आफू संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेको उल्लेख गरे ।