दसैँलगत्तै अस्पतालमा बिरामीको चाप बढ्यो

काठमाण्डु टुडे २०७० कार्तिक १ गते ५:११ मा प्रकाशित

गाईघाट,१ कात्तिक–जिल्ला अस्पताल उदयपुरमा बडादसैँ सकिनै लाग्दा बिरामीको चाप फेरि बढ्न थालेको छ ।
दसैँको एक हप्ताअघि देखि जिल्ला अस्पतालमा बिरामीको चाप क्रमशः घट्दै गएको भए तापनि दसैँको तृत्तीयादेखि बिस्तारै पुनः वृद्धि हुन थालेको हो । अहिले दुई दिनभित्र मात्र झन्डै ३० जना बिरामी अस्पतालमा उपचारका लागि भर्ना हुन आएको अस्पताल सूत्रले बताएको छ ।
दसैँको फुलपातीका दिनसम्ममा सातजना मात्र बिरामी जिल्ला अस्पतालमा उपचारका लागि रहेकोमा दसैँको द्वादशीलगत्तै बिरामीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको सो अस्पतालका डाक्टर सूर्यकान्त चौधरीले बताए ।
दसैँमा बढी खानपान र चिसोको कारण धेरै मानिस निमोनिया तथा पखालाबाट प्रभावित भएका डा चौधरीले बताए । दसैँको समयमा खानपानमा नियन्त्रण नगर्दा धेरै पखालाबाट बिरामी भएका छन् भने अचानक चिसो बढेसँगै बालबालिका तथा अन्य उमेरका मानिस निमोनियाबाट प्रभावित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us