जन्ती बोकेको जिप दुर्घटनामा १४ घाइते,झापामा एक पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १ गते ४:५४ मा प्रकाशित

गुल्मी, १ कात्तिक–गुल्मीको वामीमा जन्ती सवार जिप बिहीबार राति दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
बागलुङको रिघाबाट वामीमा दुलही लिन आएको ग१ज ५०३८ नम्बरको जिप वामी–२ र ३ को बीचमा राति आठ बजेतिर दुर्घटना भएको हो ।  दुर्घटनामा जिपचालक  ३० वर्षीय टेकबहादुर श्रीश, रिघा निवासी बाटुली आचार्य र रिघाकै ७६ वर्षीय शशिधर सापकोटा गम्भीर घाइते भएका निमित्त जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
घाइतेहरूको वामी उपस्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ । जिप सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

झापामा एक पैदलयात्रीको मृत्यु

झापाको दमक–१४ स्थित पूर्वपश्चिम सडकखण्डमा बिहीबार राति भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको बा३ख २२९० नम्बरको जम्बो माइक्रोभ्यानले ठक्कर दिँदा अपरिचित पैदलयात्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
अन्दाजी ४५ वर्षको देखिने ती व्यक्तिको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव मेची अञ्चल अस्पतालको शवगृहमा राखिएको जनाइएको छ । दुर्घटनामा संलग्न भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us