नेपालमा पहिलो पटक मत्स्य विज्ञानमा स्नातकतहको पढाइ सुरु हुँदै

काठमाण्डु टुडे २०७० कार्तिक १ गते २:३४ मा प्रकाशित

चितवन, १ कात्तिक–कृषि तथा वन विज्ञान विश्वविद्यालयले यो वर्षबाट मत्स्य विज्ञानमा स्नातकतहको पढाइ सुरु गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालयले स्वामित्व हस्तान्तरणमा ढिलाइ गरे पनि विभिन्न विषयको पाठ्यक्रम निर्माण गरी विश्वविद्यालयले नयाँनयाँ विषयको पढाइ सुरु गर्न लागेको हो । विश्वविद्यालयले स्नताकदेखि विद्यावारीधिसम्मको पठनपाठन सञ्चालन गर्न लागेको विश्वविद्यालयका रजिस्ट्रार डा सूर्यकान्त घिमिरेले बताए ।
नेपालमा माछापालनप्रतिको आकर्षण बढेसँगै जनशक्ति उत्पादनका लागि विएससी इन फिसरी विषयमा पठनपाठन सञ्चालन गर्न लागिएको रजिस्ट्रार घिमिरेले जानकारी दिए । नेपालमा नै पहिलोपटक सञ्चालन गर्न लागिएको मत्स्य विज्ञानमा १५ जना विद्यार्थीलाई पढाइँदैछ । विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीबाट प्रवेश परीक्षाका लागि दर्खास्त आह्वान गरिएको र यसै शैक्षिकसत्रबाट पढाइ सञ्चालन गर्ने बताइएको छ ।
सो विश्वविद्यालयले मत्स्य विज्ञानमा नै स्नातकोत्तर र विद्यावारीधिमा समेत पठनपाठन सञ्चालन गर्दैछ । त्यसैगरी कृषि, पशु र पशु चिकित्सामा स्नातकोत्तर तहमा पठनपाठन सञ्चालन गरिएको रजिस्ट्रार घिमिरेले बताए । विश्वविद्यालयले मत्स्य विज्ञानका अतिरिक्त कृषि, पशु र पशु चिकित्सा विषयमा पनि विद्यावारीधिको पढाइका लागि विद्यार्थी भर्ना गर्ने कार्य भइरहेको जनाएको छ ।
विश्वविद्यालयको स्थापनापछि गत वर्षबाट स्नातकतहमा पठनपाठन सञ्चालन गरेको सो विश्वविद्यालयले कृषि र भेटेरिनरीतर्फको आकर्षण बढेसँगै विद्यार्थी सङ्ख्यामा पनि वृद्धि गरेको छ । विश्वविद्यालयले कृषितर्फको ११० जनाको कोटालाई वृद्धि गरी १६५ पुयाएको छ ।
त्यस्तै ४० जनाको भेटेरिनरी डाक्टरको कोटालाई वृद्धि गरी ५० पुयाएको छ भने वन विज्ञानतर्फ स्नातकतहको कोटामा दोब्बर वृद्धि गरी ८० पु¥याएको रजिस्ट्रार घिमिरेले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us