
काठमाण्डु, १ कात्तिक–नेकपा–माओवादीका केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद् शिवराज गौतमको निधन भएको छ ।
रक्तक्यान्सरबाट पीडित गौतमको उपचारका क्रममा गएराति अल्का अस्पताल जावलाखेलमा निधन भएको हो । पहिलो संविधानसभा चुनावमा गौतम दाङ–४ बाट १८ हजार ८ सय ५४ मतका साथ निर्वाचित भएका थिए ।
उनी २०४८ सालमा नेकपा एमालेबाट सांसद् समेत बनेका थिए । एमालेमा वैचारिक विचलन आएको भन्दै माओवादी प्रवेश गरेका उनी एकीकृत माओवादी विभाजनअघि अखिल नेपाल किसान संघका अध्यक्ष थिए ।
अखिल नेपाल किसान संघको केन्द्रीय अध्यक्ष भएर पनि संगठन र संघर्षको कुशलतापूर्वक नेतृत्व गरेका शिवराज श्रद्धान्जली अर्पण गर्न माओवादीले शुक्रवारदेखि तीनदिनसम्म देशका सम्पूर्ण पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
शिवराजको पार्थिव शरिरलाई शनिवार बिहान दाङ जिल्ला कार्यालय र जन्मस्थान दाङको हापुरमा श्रद्धान्जलीका लागि राखिने सो पार्टीले जनाएको छ । उनको दाहसंस्कार शनिवार दिउसो हापुरमा गरिने र कात्तिक ८ गते हापुरमै श्रद्धाञ्जली सभा गर्ने कार्यक्रम सो पार्टीले बनाएको छ । २०६४ को संविधान सभा सदस्यमा नेकपा(माओवादी)बाट निर्वाचित भएका शिवराज वरिष्ठ केन्द्रीय सल्लाहकार थिए ।
२०४८ मा संसद् सदस्यमा तत्कालीन एमालेबाट प्रस्तावित भई साझा वाम उमेद्वारको रुपमा विजयी भएका थिए । कानूनी वा गैर कानूनी एवम् खुला वा भूमिगत जुनसुकै तरिकाले पनि जनताको र क्रान्तिको सेवा गर्ने दृढ इच्छा र चिन्तनका कारण शिवराज तत्कालीन पार्टीको नीति अनुसार गाउँ पञ्चायतको प्रधान पञ्चमा निर्वाचित भएर स्थानीय स्तरबाट देश र जनताको सेवा गरेको माओवादीले जनाएको छ । एकाईसौ शताब्दीकै दोस्रो दशकमा तत्कालीन ने.क.पा.को पार्टी सदस्यता मोहनविक्रम सिंहबाट प्राप्त गरेका शिवराजले तत्कालीन निरंकुश पञ्चायती शासकहरुबाट १९ पटक कारावासको सजाय साढे आठ बर्षसम्म भोगेका थिए ।
नन्दलाल गौतम र आमा मणिकर्णिका गौतमका कान्छा छोराको रुपमा विसं १९९० असोज १५ मा दाङ हापुरमा जन्मिएका शिवराजका श्रीमती भक्तादेवी गौतम, छोराहरु अरविन्द गौतम, श्रवण गौतम र तारापद गौतम र एक छोरी आशा गौतम (आचार्य) छन । नेकपा–माओवादीले संभ्रान्त परिवारमा जन्मेर सर्वहारा राजनीतिमा आजीवन समर्पित रहनु, सामन्त र जमिन्दाका विरुद्ध मोही, सुकुम्बासी र गरीब किसानका पक्षमा अविचल संघर्षरत रहनु, नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न उतार चढाव र विविध धाराहरुबीच सदासर्वदा क्रान्तिकारी आशावादका साथ क्रान्तिकारी धारामा समाहित हुँदै आउनु, संशोधनवाद, अवसरवाद र संझौतावाद एवम् राष्ट्रिय र वर्गीय आत्मसमर्पणवादका विरुद्ध निर्मम र तीक्ष्ण संघर्ष संचालन गर्नु जस्ता कार्यहरु गौतमका विशिष्ट काम रुपमा बिश्लेषण गरेको छ ।
शिवराज प्रति अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का ठाकुर प्रसाद चापागाई,अखिल नेपालमहिला संघ(क्रान्तिकारी) की जयपुरी घर्ती, जातीय क्षेत्रीय महासंघ, नेपालका सुरेश आले मगर,नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका तिलक परियार,अखिल नेपालक्रान्तिकारी ट्रेड युनियन महासंघका रामदीप आचार्य,अखिल नेपालजनसांस्कृतिक महासंघका ईश्वरचन्द्र ज्ञवाली,नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका हुकुम बहादुर सिंह, अखिल नेपालप्रगतिशील जनस्वास्थ्यकर्मी संघका मंगल बिक,नेपालराष्ट्रिय प्राध्यापक संगठनका डा.जगदीश चन्द्र भण्डारी, राज्यद्वारा वेपत्ता योद्धा परिवार समाज, नेपालकाएकराज भण्डारी, नेपाल क्रान्तिकारी पत्रकार महासंघका कुमार शाह,अखिल नेपाल रा.स्व.वि.यु(क्रान्तिकारी)का शरद रसाईली, अखिल नेपाल शिक्षक संगठनका लाल बहादुर विसी,नेपालराष्ट्रिय कर्मचारी महासंघका रुक्म लामिछाने, राष्ट्रिय उद्योग व्यापार महासंघका शिव कट्टेल,नेपाल गणतान्त्रिक खेलकुद महासंघका जयेन्द्र चन्द र अखिल नेपाल सुकुम्बासी संघ पदम देवकोटाले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गरी शिवराज प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन ।