आज कोजाग्रत पूर्णिमा,वडा दसै सकिदै

काठमाण्डु टुडे २०७० कार्तिक १ गते ०:०७ मा प्रकाशित

काठमाण्डु १ कात्तिक–नेपालीहरूको महान् चाड बडाददसैँ  आज कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुँदैछ ।
यही असोज १९ गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडाददसैँ आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–अराधना गरी विसर्जन गरिँदैछ ।
सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले परिपूर्ण गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आज राति खासगरी हिन्दु सम्प्रदायका गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्दछन् ।
दसैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैँघर र कोतहरूमा राखिएका जमरा आज बिसर्जन गरिन्छ । आज कोजाग्रत पूर्णिमाको व्रत लिने र भोलिदेखि आकाशदीप बाल्नुपर्ने कुरा पञ्चाङ्गमा उल्लेख छ ।
कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ ।
कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलनअनुसार भोलिदेखि आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us