हिमपहिरोमा पुरिएका दुई जनाको शव निकालियो

काठमाण्डु टुडे २०७० असोज ३१ गते १६:०९ मा प्रकाशित

सोलुखुम्बु, ३१ असोज–गत सोमबार बरुञ्चे हिमाल जाने क्रममा हिमपहिरोमा पुरिएका दुई जनाको शव निकालिएको छ ।
लुक्लाबाट औजारसहित घटनास्थल गएको टोलीले पहिरोमा पुरिएका दुई जनाको शव निकालिएको हो । हिम पहिरोमा स्नो होराइजन कम्पनीका दुई जना स्टाफ र उनीहरू बसेको होटलका मालिकसमेत पुरिएका थिए ।
शव निकाले लगत्तै शव लुक्ला ल्याउने प्रयास गरिए पनि खराब मौसमका कारण ल्याउन नसकिएको कम्पनीका पथप्रदर्शक ङवाङ शेर्पाले बताए । मृतकको शव शुक्रवार लुक्ला ल्याउन हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको पथप्रदर्शक शेर्पाले बताए । हिमपहिरोमा पुरिएर केरुङ–२ सोलुखुम्बुका पाल्देन तामाङ र राम तामाङको ज्यान गएको छ । हिमपहिरोमा पुरिएका सो होटल सञ्चालकको भने शव भेटिएको छैन ।
हिम पहिरोमा परी घाइते चार जनाको पासाङ ल्हामु निकोल निकी अस्पताल लुक्लामा जाँच तथा उपचार गरिएको छ । घटनामा परी घाइते भएकामा ओखलढुङा खिजीफलाटे–८ ओखरबोट बस्ने १९ वर्षीय बागवीर सुनुवार, केरुङ–५ चिम्दिङ सोलुखुम्बुका २१ वर्षीय रमेश श्रेष्ठ, १८ वर्षीय नवीन श्रेष्ठ र सन्तोष श्रेष्ठ रहेका छन् । जसमध्ये रमेश श्रेष्ठको बायाँ आँखामाथि चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
भारतमा आएको फायलिन नामक आँधीको प्रभावस्वरूप नेपालमा अधिकांश भागमा वर्षा भएको थियो भने हिमाली जिल्लाहरूमा हिमपात भएको थियो । सोही हिमपातका कारण गएको हिमपहिरोमा परी उनीहरू सोमबार दिउँसो पुुरिएका थिए । खराब मौसमका कारण बुधवार मात्र घाइतेहरूलाई उद्धार गरिएको थियो ।
बरुञ्चे हिमाल जाने क्रममा खोम्दादिन र सेतो पोखरीको बीचमा रहेको एक होटलमा बसिरहेका बेला माथिबाट आएको हिम पहिरोमा परी दुई जनाको मृत्यु, एक जना बेपत्ता र अरु घाइते भएका थिए ।  हिमपहिरो आउँदा होटलमा स्नो होराइजन कम्पनीमार्फत बरुञ्चे हिमाल जाँदै गरेका हङ्गेरीका तीन जना पर्यटक र १० जना नेपाली थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us