त्रिशुलीमा हराइरहेका यात्रुको खोजीका लागि क्रेनको प्रयोग

काठमाण्डु टुडे २०७० असोज ३१ गते १६:०० मा प्रकाशित

चितवन, ३१ असोज–चितवनको फिस्लीङबाट सोमबार त्रिशुली नदीमा खसेको माइक्रो बस र बेपत्ता १३ यात्रुको खोजीका लागि बिहिबारदेखि क्रेनको प्रयोग गरिएको छ ।
अहिलेसम्मको खोजतलासले हराइरहेका फेला नपरेपछि क्रेनको प्रयोग गरेर खोजी अभियान तीब्र पारिएको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिए ।
छोराछोरीसहित वेपत्ता भएका झलक ढकालका परिवारसँग भेटी शर्माले खोजतलासमा कुनै कसर बाँकी नराख्ने आश्वसन दिएका छन ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोली र स्थानीयको सक्रियतामा खोजी कार्य जारी छ । पानीको बहाब घटेकाले अब भने खोजी कार्य सहज हुने शर्माले बताए । अहिले क्रेनको सहायतामा खोजी कार्य जारी रहेको मुग्लीन प्रहरीले जनाएको छ । पीडित परिवारले भने प्रशासनले खोजीमा तदारुकता नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन्  ।
नारायणगढबाट काठमाण्डु जाँदै गरेको बा२ख २५९८ नम्बरको माइक्रो बस गत सोमबार टीकाको दिन साँझ चितवनको दारेचोक गाविस–९ फिस्लिङ नजिकबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको थियो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । नौ जना यात्रुलाई जीवितै उद्धार गरिएको छ भने १३ यात्रु नदीमा डुबेर हराइरहेका छन् । आफन्तकहाँ टीका थाप्न गएकाहरू दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी नायब निरीक्षक रोहित दुलालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी वेपत्ता हुनेहरूमा चितवन भरतपुरका झलक ढकाल, छोरा निमेश ढकाल, छोरी यसस्वी ढकाल, धादिङ बेनिघाटका लोकबहादुर बानियाँ, चन्दा बानियाँ र छोरी अप्सरा बानियाँ, काठमाडौँकी रीना अधिकारी, उनका १२ बर्षीय छोरा विपिन अधिकारी रहेका छन् ।
यस्तै चितवन मङ्गलपुरकी सविना पौडेल र उनका १२ वर्षीया छोरी रेश्मा पौडेल, ललितपुरकी सम्झना खनाल, गोर्खाकी पार्वती तिवारी र सवारी चालक माइला परियार पनि बेपत्ता छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us