म्यादी प्रहरीमा भर्ना हुन आएकी महिलालाई बलात्कार गरेको अभियोगमा तीन पक्राउ

काठमाण्डु टुडे २०७० असोज ३१ गते १४:०४ मा प्रकाशित

सप्तरी, ३१ असोज–म्यादी प्रहरीमा भर्ना हुन आएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराजमा सार्वजनिक गरेको छ ।
पच्चीस वर्षीया ती महिलालाई सप्तरीको रुपनगर–९ निवासी २३ वर्षीय बालेश्वर यादव, सोही गाविस–८ निवासी २४ वर्षीय राजेश्वर सरदार र बदगामा–३ निवासी २४ वर्षीय राजनारायण यादवले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
तीनै जनाले म्यादी प्रहरी भर्नाका लागि आएकी २५ वर्षीय ती महिलालाई गत बुधबार राति राजविराज नगरपालिका–१ स्थित नेपाल टेलिकमको कार्यालय परिसरमा बलात्कार गरेको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
राति १० बजे टेलिकम कार्यालय परिसरबाट रुँदै निस्किएकी पीडितलाई म्यादी प्रहरी भर्नाको परिणाम टाँस्न जिल्ला प्रशासन कार्यालय पुगेका सई श्याम सुवेदीको प्रहरी टोली र स्थानीयवासीले सोधपुछ गर्दा पीडितले आफू बलात्कृत भएको बताएकी थिइन् ।
म्यादी प्रहरीमा भर्ना हुन आएकी ती महिलालाई होटल वा लजमा बस्न नदिई टेलिकमको कार्यालयमा ल्याई बलात्कार गरिएको पीडितद्वारा बिहीबार प्रहरीमा दिइएको उजुरीमा उल्लिखित छ ।
पीडित महिलाले उजुरी दिएपछि बलात्कारको आरोपमा प्रहरीले बिहीबार राजेश्वर, राजनारायण र बालेश्वरलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको थियो ।
यसैगरी राजविराज नगरपालिका–३ निवासी एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा ४५ वर्षीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत बिहीबार दिउँसो ८ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सप्तरीको बभनगामाकट्टी–३ निवासी ४५ वर्षीय फुलेश्वर शर्मालाई पक्राउ गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us