प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु, समानुपातिकको छपाइ सकियो

काठमाण्डु टुडे २०७० असोज ३१ गते १७:०१ मा प्रकाशित

भक्तपुर, ३१ असोज–आसन्न संविधानसभा निर्वाचनका लागि गत असोज १९ गतेदेखि मतपत्र छपाइ सुरु गरेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समानुपातिकतर्फको मतपत्र छपाइ कार्य समाप्त गरेको छ । केन्द्रले हाल प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु गरेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेराभित्र भक्तपुरको सानोठिमीस्थित जनक शिक्षामा समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न गरेर प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको केन्द्र व्यवस्थापनले जानकारी दिएको छ ।
आगामी कात्तिक २२ गतेसम्म सम्पन्न गर्ने लक्षका साथ सुरु भएको मतपत्र छपाइ कार्य २४ सै घण्टा सञ्चालनमा रहेकाले लक्षभन्दा छिट्टै नै सम्पन्न हुने केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जानकारी दिए ।
केन्द्रले कुल तीन करोड मतपत्रमध्ये समानुपातिकका लागि एक करोडभन्दा बढी मतपत्र छापेको छ । निर्वाचन आयोगले समानुपातिकका लागि हल्का रातो र प्रत्यक्षका लागि नीलो रंगको मतपत्रको व्यवस्था गरेको छ ।
मतपत्र छपाइका लागि केन्द्रको सबै मेसिन चालु हालतमा राखेको बताउँदै ठाकुरले मतपत्र छपाइका लागि केन्द्रले ८ वटा छपाइ मेसिन, ५ वटा कटिङ्ग मेसिन र ४ वटा नम्बरिङ्ग मेसिन प्रयोग गरेको र ३५० जना कर्मचारीलाई खटाइको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us