निर्वाचन बिथोल्न खोज्नेलाई नछाडिने गृहमन्त्रीको चेतावनी

काठमाण्डु टुडे २०७० असोज ३१ गते १४:०३ मा प्रकाशित

विराटनगर, ३१ असोज–गृहमन्त्री माधवप्रसाद घिमिरेले आगामी संविधानसभा सदस्य निर्वाचनमा अवरोध सिर्जना गर्ने र निर्वाचन बिथोल्न खोज्नेलाई सरकारले कुनै हालतमा नछाड्ने चेतावनी दिएका छन ।Madhab-Ghimire
स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न वर्तमान सरकारले सुरक्षाको दह्रो बन्दोबस्त गरेको पनि उनले बताए । बिराटनगरमा आयोजित पूर्वाञ्चल सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री घिमिरेले भने ‘निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न सरकार जुनसुकै चुनौतीको सामना गर्न दृढ छ, निर्वाचनका लागि सरकारले सुरक्षाको भरपर्दो आधार तयार पारिसकेको छ ।’
गृहमन्त्री घिमिरेले मतदातालाई मतदान केन्द्रसम्म पुगेर आफ्नो मताधिकार प्रयोग गरी सुरक्षित रूपले घरसम्म आउने वातावरण बनाउन सरकारले मतदानकेन्द्रित सुरक्षा योजना बनाइसकेको जानकारी दिए । निर्वाचनमा सहभागी नहुने असन्तुष्ट दललाई निर्वाचनमा असर पुग्ने कुनै पनि कार्य नगर्न आग्रह गर्दै मन्त्री घिमिरे निर्वाचन बहिष्कारभन्दा पनि निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गरी लोकतन्त्रलाई संस्थागत गर्न ३३ राजनीतिक दललाई अनुरोध गरे । ‘निर्वाचनले नै राष्ट्रलाई निकास दिने भएकोले फरक म राख्ने दलहरु पनि राष्ट्रपति गम्भीर बन्नुपर्छ’उनले भने ‘निर्वाचनद्वारा जनताको सर्वोचता कायम हुने भएकाले नागरिकको निर्वाचनमा मतदान गर्ने हकअधिकार कुण्ठित गर्ने कार्य कोही कसैले गर्नु हुँदैन ।’
सोही अवसरमा निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जस्तोसुकै बाधाव्यवधान आए पनि आयोग त्यसकोे सामना गरी आगामी संविधानसभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न तयार रहेको बताए ।
एकदिने सो गोष्ठीमा पूर्वाञ्चलका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका बलाधिकृतरथी, नेपाली सेनाका स्थानीय प्रमुखलगायत सुरक्षा अधिकृतको सहभागिता छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us