फोरम (लोकतान्त्रिक)का उम्मेदवार सिंहमाथि आक्रमण

काठमाण्डु टुडे २०७० असोज ३१ गते ६:४८ मा प्रकाशित

गोलबजार (सिरहा), ३१ असोज–मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्नप्रसाद सिंहमाथि बुधबार राति आक्रमण भएको छ ।
बकरिदका अवसरमा बलकवा–४मा क्षेत्र नं ५ का उम्मेदवार जाबेद खाँको घरमा शुभकामना आदानप्रदान गर्न पुगेका बेला सिंहलगायत फोरम नेता तथा कार्यकर्तामाथि आक्रमण भएको हो । आक्रमणबाट उम्मेदवार सिंहले चढेको बा८च १७९२ र कार्यकर्ता चढेको बा३च ८८३७ नम्बरको गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पूर्वराज्यमन्त्रीसमेत रहेका सिंहको गाडीबाट आक्रमणकारीले एक लाख रुपैया, पर्चा, पम्प्लेट र पार्टीका झन्डा लुटेर लगेको बताइएको छ । फोरम (लोकतान्त्रिक)बाट क्षेत्र नं ५ का उम्मेदवार रहेका जाबेदको घरमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
राति ८ बजेदेखि एक घन्टासम्म फोरम (लोकतान्त्रिक)का उम्मेदवार जाबेदका घरमा आक्रमणकारीले ढुङ्गामुढा गरेका थिए । आक्रमणबाट बच्न उम्मेदवार जाबेदको घरमा लुके पनि ढोका र झ्याल फोरेर आफूलाई मार्न खोजिएको उम्मेदवार सिंहले बताए ।
“शुभकामना आदानप्रदान गर्न बलकवा जाँदा गोलबजार प्रहरीलाई जानकारी गराएको थिएँ”, उम्मेदवार सिंहले भने, “तर पनि सुरक्षाकर्मीले गम्भीर रुपमा लिएनन्, आक्रमण भएका बेला पनि एसपीलाई फोन गर्दा अहिले राति भएकाले सुरक्षा दिन नसक्ने प्रतिक्रिया दिनुभयो ।”
नेपाली काँग्रेस क्षेत्र नं ५ का सभापति पद त्यागेर फोरम (लोकतान्त्रिक)मा प्रवेश गरेका चन्द्रदेव यादव पनि आक्रमण भएका बेला उम्मेदवार सिंहसँगै थिए । चन्द्रदेवले भने “म काँग्रेस छाडेर फोरम (लोकतान्त्रिक)मा गएपछि काँग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् । ”
प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले आक्रमणबारे थाहा पाउनेबित्तिकै सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले भने “रातिको समय भएकाले सुरक्षा दिन अप्ठ्यारो भयो, घटनाबारे अनुसन्धान हुँदैछ ।”

आक्रमणको विरोधमा फोरम लोकतान्त्रिकले बिहिबार बिहानैदेखि सिरहाको गोलबजारमा चक्का जाम गरेका छन् । आफ्ना नेता कार्यकर्तामाथि कांग्रेसी कार्यकर्ताले आक्रमण गरेको भन्दै फोरम लोकतान्त्रिकले पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजारमा चक्का जाम गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us