धरानमा यात्रुको घुइँचो, इटहरीमा यात्रु सहायता कक्ष

काठमाण्डु टुडे २०७० असोज ३१ गते ४:५० मा प्रकाशित

इटहरी, ३१ असोज–दसैँमा टीका थाप्न जाने यात्रुको तुलनामा सवारीसाधन कमी हुँदा सयौँ यात्रु धरानको भानुचोकस्थित पहाडी बसपार्कमा हैरानीमा परिरहेका छन् ।
बिहानदेखि धरानबाट धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर लगायतका पहाडी जिल्लामा जानका लागि लामबद्ध भएर भानुचोकको पहाडी बसपार्कमा उभिएका यात्रु तीनचार घण्टासम्म बस चढ्न नपाएर हैरानीमा परेका हुन् ।
बालबच्चा र झोलासहित बस चढ्नका लागि तँछाडमँछाड गरिरहेका यात्रुलाई बसमा काम गर्नेले यता र उता भनेर अलमल्याइरहेको पाइएको छ । यातायात कर्मचारीकै कारण कतिपय बालबच्चा बोकेका महिला यात्रु रणभुल्लमा परेर बस चढ्न सकिरहेका छैनन् ।
पहाडी क्षेत्रमा जानका लागि टिकट काउन्टरमा महिलाको पहुँच नपुग्ने गरी पुरुष यात्रुले ढाकेका कारणले पनि महिला यात्रुले सास्ती भोग्नु परेको छ ।
यात्रुले सास्ती पाइरहेको भए पनि भानुचोकको पहाडी बसपार्कमा ट्राफिक प्रहरी र जनपद प्रहरीको उपस्थिति नहुनु अर्को दुखद् पक्ष देखिएको छ । मनपरी भाडा असुल्ने अनि यात्रुलाई बसभित्र कोचेर राख्ने गरेकाले बुढाबुढी र अशक्तका लागि त पहाडी क्षेत्रमा यात्रा गर्न ज्यादै कठिन भइरहेको देखिएको छ ।
पूर्वकै अति व्यस्त बसपार्कको रूपमा रहेको इटहरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
यात्रुलाई आपतविपद् नपरोस् र कुनै अप्ठ्यारामा परेका यात्रुलाई तत्काल सहयोग पु¥याउन यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएपछि बसपार्क क्षेत्र व्यवस्थित बन्न पुगेको छ ।
लामो तथा छोटो दूरीका सबै यात्रुवाहक बस, मिनीबस, माइक्रो लगायतका सार्वजनिक सवारीसाधन बसपार्क भएर गन्तव्यतिर जानुपर्ने बाध्यताका कारण अब सो बसपार्क भएर आउने सवारीसाधनका यात्रुले दुःख पाएको भए तत्काल कारबाहीसमेत हुने भएको छ ।
चाडबाडका बेला टिकट लिएर पनि सिट नपाइने, बढी पैसा असुल्ने र अपाङ्ग अशक्तका लागि छुट्याएको सिटमा अन्य मानिसलाई राख्ने गरिएकामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएपछि सो समस्या हटेको ट्राफिक प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us