
चितवन–नेपालमा स्वास्थ्य शिक्षा निकै खर्चिलो बन्दै गएपछि प्राध्यापकहरुमा चिन्ता थपिँदै गएको छ । दक्ष चिकित्सक बन्न एक करोडभन्दा बढी खर्च हुने गर्दछ । मेडिकल कलेजले एमबिबिएस अध्ययनका लागि मात्र यो वर्ष प्रतिविद्यार्थी ५४ लाख रुपैयाँसम्म शुल्क लिएका छन् । एमडी अध्ययनका लागि त्योभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ ।
चितवनमा रहेका दुई मेडिकल कलेजमध्ये भारतीय लगानी रहेको कलेज अफ मेडिकल साइन्सेजले प्रतिविद्यार्थी ५४ लाख रुपैयाँ लियो भने नेपाली चिकित्सकको लगानीबाट खोलिएको चितवन मेडिकल कलेज शिक्षण अस्पतालले ३६ लाख रुपैयाँ लिएको छ । यति महँगो शुल्क तिरेर बनेका चिकित्सकलाई कसरी मानवीय बनाउन सकिन्छ भन्ने प्रश्नमा चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रिन्सिपल डा मोती चापागार्इं भन्छन“हामीले अध्यापन पद्धतिलाई नै परिवर्तन गरेका छौँ, कसरी चिकित्सकलाई सामाजिक र व्यावहारिक बनाउन सकिन्छ भन्ने हाम्रो उद्देश्य छ ।’
पढाउने र पढ्ने अधिकांश नेपाली रहेको सो मेडिकल कलेजमा पढ्न आउने विद्यार्थी प्रवेश परीक्षा उत्तीर्ण गरेर आउने भएकाले सम्झाउन धेरै सहज रहेको प्रिन्सिपल चापागार्इंको भनाइ छ । लाखाँै रुपैयाँ सहजै कमाएको देखेर चिकित्सक नै बन्न चाहनेको होड छ । चितवनका एक चिकित्सकले भने जिल्लामा ३६ जना चिकित्सक राम्रो पैसा कमाउँछन् । छजनाले मासिक १५ लाखभन्दा बढी कमाउने उनको भनाइ छ ।
त्यस्तै मासिक १० लाखभन्दा बढी कमाउने पनि दर्जनभन्दा बढि रहेका छन् । तिनैको देखासिकीमा चिकित्सक बन्न चाहने धेरै छन् । चिकित्सक बनेर ऋण तिर्न नसक्ने पनि प्रशस्तै रहेका अर्का एक चिकित्सकले नाम उल्लेख नगर्न आग्रह गर्दै भने ।
नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा कृष्ण पौडेलले लगानी गरेअनुसार कमाउँछु भन्ने सोच लिन नहुने बताए । सरकारले स्वास्थ्य शिक्षालाई निजी क्षेत्रलाई जिम्मा दिनु अमानवीय कार्य भएको भन्दै अध्यक्ष पौडेलले चिकित्सक भनेको कमाउने मान्छेभन्दा प्रतिष्ठित, सामाजिक र मर्यादित मान्छे भनेर चिन्नका लागि पढ्नुपर्ने बताए । विदेशीहरुलाई पढ्नका लागि प्रवेश परीक्षामा सामेल हुनु पर्दैन भने नेपालीका लागि अनिवार्य छ । विदेशी विद्यार्थी रहेका क्याम्पसमा गुणस्तर घट्दै गएको र शुल्क बढ्दै गएको जानकारहरु बताउँछन् । कक्षाकोठादेखि कार्य क्षेत्रसम्म विद्यार्थीलाई सामाजिक बनाउनुपर्ने प्रध्यापकहरु बताउँछन् ।
चिकित्सकलाई समाज र उपचारलाई जोड्ने कडी अर्थात् स्वास्थ्यदूत बनाउन सक्नुपर्ने चितवन मेडिकल कलेजका प्रिन्सिपल डा चापागाईंको भनाइ छ ।
विभिन्न अस्पतालको सामुदायिक चिकित्सा र जनस्वास्थ्य विभागको अनुभव सँगाल्नु भएका डा.मुनिराज क्षेत्रीले भने “समाजका बारेमा विद्यार्थीलाई बुझाउन नसके असल चिकित्सक उत्पादन हुन सक्दैनन् ।’ एमबिबिएस पढ्दै गरेका विद्यार्थीलाई ग्रामीण क्षेत्रमा पठाएर समस्या पहिचान गरी उपचार पद्धतिमा सहयोग गर्ने काम मेडिकल कलेजले गर्नुपर्ने डा क्षत्रीको भनाइ छ । विद्यार्थीलाई कसरी सामाजिक बनाउने र मीठो बोलेर रोगका बारेमा प्रस्ट पार्ने भन्ने मूल धेयका साथ पढाउनुपर्नेमा उनले जोड दिए ।
आफ्नो कलेजले विद्यार्थीलाई अन्य मेडिकल कलेजमा भन्दा सस्तो शुल्कमा पढाउने दाबी गर्दै चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरिषचन्द्र न्यौपाने समाजको प्रतिष्ठित पेसा भएकाले यसतर्फको आकर्षण बढेको बताउछन । पैसा र पढाइलाई तुलना गर्न नसकिने उल्लेख गर्दै उनले खर्चलाई तुलना गरेर उत्पादन भएका चिकित्सकले कुनै व्यवहार नदेखाउन् भन्नका लागि सामाजिक पक्षलाई जोड दिएर अध्यापन गराइँदै आएको बताए । रासस