रसायनशास्त्रलाई साइबरस्पेसमा लगे वापत तीन बैज्ञानिकलाई नोबेल पुरस्कार

काठमाण्डु टुडे २०७० असोज २६ गते १६:३८ मा प्रकाशित

स्टकहोम–औषधि डिजाइनकर्ता तथा इन्जिनियरहरूलाई क्रान्तिकारी औजार प्रदान गरे वापत बुधबार तीन बैज्ञानिकले नोबेल रसायनशास्त्र पुरस्कार प्रदान गर्ने घोषणा भएको छ । रासायनिक प्रक्रियालाई कम्प्युटरको पर्दामा सजिव रूपमा देखाउने (सिमुलेट) कम्युटर विधि तयार गरे वापत ती बैज्ञानिकले सो पुरस्कार प्राप्त गरेका हुन ।
अमेरिकी–अस्ट्रियाली नागरिक मार्टिन कारप्लस, अमेरिकी–बेलायती नागरिक माइकल लेभिट र अमेरिकी–इजरायली नागरिक आरिए वार्सेललाई जटिल रासायनिक प्रणालीको नमुना बहुस्तरमा विकास गरे वापत सम्मान स्वरुप पुरस्कार प्रदान गरिएको नोबेल पुरस्कार निर्णायक समितिले जनाएको छ ।
समितिले यी तीन वैज्ञानिकले अनुसन्धानलाई साइबरस्पेसमा लगेकोले सम्मान गरिएको उल्लेख गरेको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सका अनुसार हाल विश्वभरका रसायनशास्त्रीहरू आफ्ना जटिल अनुसन्धानलाई कम्प्युटरमा सजिव रूपमा सम्पन्न गर्छन् र यी तीन बैज्ञानिकले सन् १९७० देखि यस विषयमा काम गरेका थिए ।
यो औजार हाल विश्वव्यापी भएको र यसले औषधिको ढाँचा, नयाँ औषधि, सफा उर्जा स्रोत वा राम्रो उत्पादन तयार गर्न सहयोग गरिरहेको छ ।
यी तीन वैज्ञानिकले रासायनिक प्रतिक्रियाको अनुमानित कम्प्युटर नमुना तयार गरी त्यसैको आधारमा शास्त्रीय भौतिकशास्त्रलाई क्वान्टम भौतिकशास्त्रसँग आवद्ध गरिदिएका छन ।
यस्तै प्रतिक्रिया रसायनबीच हुनसक्छ भने इन्जाइमले परमकोषलाई कोषमा परिणत गर्दा देखिन्छ । यो प्रक्रिया एक सेकेन्डको केही हजारौँ भागको एक भागमा सम्पन्न भइसक्छ र यसलाई परम्परागत हरेक पाइला मापन गर्ने अल्गोरिदममा मापन गर्न सकिन्न । यो कुरा कम्प्युटर र क्वान्टम भैतिकशास्त्र संयोजन हुँदा सम्भव हुन्छ ।
यसका लागि निकै शक्तिशाली कम्प्युटर तथा व्यापक तथ्याङ्क आवश्यक पर्छ । नोबेल एकेडेमीले सन् २०१३ मा यी वैज्ञानिकहरूले तयार गरेको कम्प्युटर नमुना शक्तिशाली औजार भएको बताएको छ ।
समितिले यी वैज्ञानिकले मानवको ज्ञानलाई कति अगाडि लैजान्छन् भन्ने कुरा भविष्यले मात्र बताउनसक्ने उल्लेख गरेको छ । यस क्रान्तिकारी औजारले रसायनशास्त्रीको काम गर्ने तरिकामा परिवर्तन गरिदिएको बताइएको छ । समितिले हाल रसायनशास्त्रीका लागि टेस्टट्युब जस्तै कम्प्युटर पनि महत्वपूर्ण औजार भएको उल्लेख गरेको छ ।
८३ वर्षीय कारप्लस फ्रान्सको पूर्वी भागमा अवस्थित स्ट्रासवर्ग विश्वविद्यालय तथा हार्वड विश्वविद्यालयमा कार्यरत छन । ६६ बर्षीय लेभिट स्टानफोर्ड विश्वविद्यालयमा कार्यरत छन भने ७२ वर्षीय वार्सेल सदर्न क्यालिफोर्निया विश्वविद्यालयमा कार्यरत छन ।
उनीहरुले ८० लाख स्विडिस क्रोनर (१२ लाख ५० हजार अमेरिकी डलर वा नौ लाख २५ हजार युरो) बाँडेर लिनेछन । गत वष यो पुरस्कारको राशि एक करोड क्रोनर रहेको थियो भने गत वर्षको आर्थिक सङ्कटका कारण यसको मूल्य घटेको छ ।
परम्परा अनुसार यी वैज्ञानिकहरूले डिसेम्बर १० मा स्टकहोममा एक औपचारिक समारोहमा यो पुरस्कार प्राप्त गर्नेछन । सोही दिन यस पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको सन् १८९६ मा देहावसान भएको थियो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us