प्रत्यक्षतर्फको मतपत्र छपाइ तीन दिनपछि

काठमाण्डु टुडे २०७० असोज २३ गते ७:३४ मा प्रकाशित

निर्वाचन आयोगले प्रत्यक्ष प्रणालीतर्फको मतपत्रको छपाइ तीन दिनपछि शुरु गर्ने आयोगका एकजना आयुक्तले बताएका छन्।

संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली बुधवार प्रकाशन गर्ने तयारी गरिरहेको आयोगले मतपत्र छपाइको त्यस्तो गृहकार्य थालेको हो।

धमाधम

प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली बुधवार प्रकाशन गर्ने र त्यसको तीन दिन पछि उनीहरुका नामसहितका मतपत्र छाप्न शुरु गरिने निर्वाचन आयोगका आयुक्त दोलखबहादुर गुरुङ्ले बताए।

कुल छ हजारभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएकोमा १ सय ८० भन्दा बढीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ।

अहिले चाहिं समानुपातिक तर्फको मतपत्रको छपाइ धमाधम भइरहेको छ।

आयुक्त गुरुङले भने, “दिनको दश लाखको दरले छापिने, क्रम संख्या मिलाउने र प्याकिङको काम सँगसँगै भइरहेको छ। दुवै खाले मतपत्र छापिइसकेपछि कात्तिकको २० वा २२ गते सम्ममा सबै जिल्लामा पुगिसक्छ।”

ठूलो आकार

पहिलो संविधानसभामा समानुपातिकतर्फ ५४ वटा दलले निर्वाचनमा भाग लिएकोमा हाल एक सय २२ वटा दलले भाग लिंदैछन्।

त्यसैले पनि यो पटकको समानुपातिक निर्वाचनको मतपत्र निकै ठूलो हुने उनले बताए।

उनका अनुसार पहिलेको तुलनामा यसपटक मतपत्रको आकार दोब्बर भन्दा ठूलो हुनेछ।

उनले भने “हामीले एउटै पृष्ठमा सबै चिन्ह राख्ने भएका छौं। संसारका कतिपय देशमा मतपत्र डायरी जस्तो बनाइन्छ तर त्यसो गर्नलाई मतदाताको शैक्षिक स्तर पनि धेरै बढेको हुनुपर्यो। त्यसैले यसो गरे हाम्रोमा मतदातालाई असजिलो होला।”

प्रत्यक्षतर्फको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएपछि भोलि भने उनीहरुलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगले बताएको छ। Source BBC

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us