दशैमा खाऔं रमाऔं तर रोगबाट बचौँ

काठमाण्डु टुडे २०७० असोज २५ गते १०:१७ मा प्रकाशित

काठमाण्डु–यो जिब्रो बेइमान छ । यसलाई चिल्लो, पिरो, अमिलो, भुटेको, तारेको, पोलेकै चाहिन्छ । खसीको भुटेको मासु होस् या चिकन रोस्ट नै किन नहोस्, सम्झँदा हरेकको मुख रसाउँछ । खसीको मासुको कवाब बनाएर फ्रिजमा राखेर दिनदिनै झिकेर खानुको मज्जा कसले भुल्न सक्छ र । आखिर दसैँ भनेको मासुको पर्व त रहेछ । जता जाउँ उतै खसीकै चर्चा छ ।final cover-37
पौराणिक युगको कुरा गर्ने हो भने ऋग्वैदिक आर्यमा पशु हिंसा प्रचुर थियो । यज्ञमा पशुकै आहुती दिइन्थ्यो । आर्य मासु खान्थे । पच्चीस सय वर्षअघि गौतम बुद्धले पशु बलि र हिंसाविरोधी अभियान चलाए । युद्धको चरम उत्कर्षमा रहेको त्यसबेलाको समाजमा बुद्धको अहिंसा अभियान लोकप्रिय भयो । त्यसपछि हिन्दुले पनि मांसाहारी नहुने प्रण गरे । तर, केही मासुु खान पल्केका छट्टुले विभिन्न बहानामा मासु खान मिल्ने प्रावधान राखे । देवीलाई पशु बलि दिने भनियो । अनि मासु खाने चलन फेरि चल्न थाल्यो ।
देवीलाई बलि दिने भन्यो, खसी ढाल्यो । अष्टमी भन्यो, खसी ढाल्यो । अनि विभिन्न परिकार बनाएर एक सातासम्म खायो । मासुसँग मदिरा हुने नै भयो । अनि मासु, मदिरासँग म्यारिज । अर्थात् तासको खाल । मासु, मदिरा र म्यारिजको मस्तीका लागि नभई नहुने चीज हो, मनी । तर, अहिले नेपालीका लागि यही मनीले त मारेको छ । महँगीको मार छ । आमनेपालीका लागि दसैँमा खाउँला, पिउँलाभन्दा पनि ‘कहाँ पाउँला’को सुर्ता छ ।
अहिले धेरैको चिन्ताको एकमात्र विषय हो, खसी । यसपालिको दसैँमा खसी महँगो भएको छ । अहिले प्रतिकिलो आठ सय रुपैयाँ पुगिसकेको खसीको मासु दसैँसम्म १२ सय रुपैयाँ पुग्ने अनुमान गरिएको छ । कुखुरामा बर्डप्mलुको हल्ला चलाएर चल्ला धपाउने र खसीको मूल्य बढाउने सल्लाह भएपछि यो अवस्था आएको हो । सरकारले कुखुराको ओसारपसार र बिक्री खुला गरे पनि व्यवसायीले खसीको मासुको मूल्य भने घटाएनन् । बर्डप्mलुको हल्लाका कारण अझै पनि कुखुराको मासु निर्धक्कसँग खाने अवस्था छैन । यसकारण खसी व्यवसायी मालामाल हुँदै छन् । कुखुरा व्यवसायी बेहाल छन् । यसपालिको खसी महँगो भएकाले आम सर्बसाधारण जनताको घरमा खसी पाक्न कठिन छ । त्यसैले अब खसीको विकल्पबारे पनि सोच्नुपर्ने हुन्छ ।
खानैपर्छ त खसी ?
बालबालिकाका लागि केही हदसम्म खसीको मासु खुवाउनैपर्छ । खसीको मासुमा प्रशस्त मात्रामा जिंक पाइन्छ, जुन केटाकेटी तथा किशोरकिशोरीका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुन्छ । यसमा आइरन बढी मात्रामा हुन्छ । यसले युवा, वृद्धवृद्धा, बच्चा र अपरेसन गरिएका बिरामीलाई लाभ गर्छ । मासुमा सबैभन्दा बढी प्रोटिन पाइन्छ । मांसपेशी तथा शरीरका अवयवको विकासका लागि यो अत्यावश्यक छ । विशेषगरेर दुब्ला÷पातला मानिसका लागि मासु खानैपर्छ । यसमा भिटामिन, खनिज, फसफोरस, पोटासियम, म्याग्नेसियम र चिल्लो पदार्थ पाइन्छ ।
तर, खसीको मासु धेरै खानु ४० वर्ष उमेर कटिसकेकालाई हानिकारक छ । खसीको मासुले कोलेस्ट्रोल बढाउँछ, जसले गर्दा रक्तनली साँघुरो भई उच्च रक्तचाप, हृदयाघात, पक्षघातसमेत हुन सक्छ । यसले युरिक एसिड तथा बाथ गराउँछ । आन्द्राको क्यान्सर हुन सक्छ । अल्जाइमर रोग लाग्न सक्छ । हड्डीमा समस्या देखापर्छ । स्तन क्यान्सर हुन सक्छ । मोटोपना बढ्छ । कब्जियत हुन्छ । फोक्सो, खाद्यनली, कलेजो, प्याङ्क्रियाज तथा आन्द्राको क्यान्सर हुन सक्छ ।
रातो मासु अर्थात् खसी, बोका, राँगा, बँदेल, भेडा आदिको मासुमा प्रोटिनका साथै फ्याटी एसिड प्रशस्त मात्रामा हुन्छ । जसकारण मासुमा भएको कोलेस्ट्रोलले भन्दा यसमा भएको फ्याटी एसिडले शरीरलाई हानि पु¥याउँछ । शरीरभित्र कोलेस्ट्रोल फ्याटी एसिडसँग मिलेपछि खराब चिल्लो बन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेल प्रयोग गरी पकाएको मासु वा उसिनेको मासु खानु कम हानिकारक हुन्छ ।
तेलमा कोलेस्ट्रोल हँुदैन तर अनस्याच्युरेटेड फ्याट बढी हुन्छ । यस्तै घिउमा कोलेस्ट्रोल र स्याच्युरेटेर फ्याट बढी हुन्छ, जुन मुटुका लागि बढी हानिकारक छ । चिकित्सकहरू दसैँमा भान्सामा सकेसम्म चिल्लो पदार्थ प्रयोग घटाउन सुझाव दिन्छन् । त्यसमा पनि विभिन्न मिठाइ र मरमसला बनाउन चिल्लो पदार्थ धेरैपटक तताएरसमेत प्रयोग गरिन्छ । जति धेरैपटक ततायो, उति त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ, जुन स्वास्थ्यका लागि धेरै हानिकारक छ ।
चिकित्सक डा. भरत रावतका अुनसार मोटोपना, मधुमेह, उच्च रक्तचाप तथा मुटुरोग भएका व्यक्तिका लागि खसीको मासु बिल्कुल हानिकारक छ । हालै विश्व मुटु दिवसका अवसरमा डा. रावतले भनेका थिए, ‘चाडबाडमा घरमा आउने छोराबुहारी, छोरीज्वाईं र अन्य पाहुनालाई टन्न खसीको मासु खुवाएर रोगी बनाउने काम बन्द गरौँ । खाए पनि सन्तुलित मात्रा खाऔँ । किनकि खसीको मासुमा रहेको बोसो नै मुटुरोगको एउटा प्रमुख कारण हो ।’ चाडबाडमा खसी, राँगा, बंगुरको मासुभन्दा माछा, कुखुराको मासु खानु स्वस्थकर छ ।
मासु कसरी खाने ?
मासु खाँदा सागपात, फाइबर, फलफूल, दही र प्रशस्त पानी एवम् भात, रोटी खानुपर्छ । दिनमा न्यूनतम एक घन्टा हिँड्ने, व्यायाम, योग तथा सक्रिय जीवन बिताउनुपर्छ । दसैँको बेलामा पनि व्यायाममा विश्राम दिनुहँुदैन । व्यायाम गरेपछि केही मात्रामा मासु खाँदा केही हानि हुँदैन ।
मासुलाई भुुटेर भन्दा पनि थोरै वनस्पती वा जैतुनको तेल राखेर उसिनेर पकाउनुपर्छ । त्यसपछि बल्ल चेरी, लसुन, दालचिनी, अलैँची, ल्वाङको तेल मिसाउने । यसरी पकाउँदा मासु स्वस्थकर हुन्छ । मासुसँगै ग्रीन चिया वा दही खानुपर्छ । यसले हाम्रो पाचन क्रियामा सघाउँछ । मासुमा बोसो सबैभन्दा हानिकारक हुन्छ । यसबाट खराब कोलेस्ट्रोल र ट्राइग्लेसेराइड बढेर हृदयाघात हुन सक्छ । तसर्थ, मासु पकाउँदा पशुको बोसोे कम गरी सूर्यमुखी तेल, भटमास, मकै, माछा, बदाम आदिको तेलमा पकाउनुपर्छ ।
मासुलाई पोलेर वा डढाएर खाँदै नखानुस् । सेकुवा वा पोलिएको खानेकुरा शरीरका लागि घातक हुन्छ । पोलेको मासुले श्वासप्रश्वास र फोक्सोमा ‘एलर्जी’ गराउने चिकित्सकहरू बताउँछन् । यसबाट क्यान्सरको अत्यधिक सम्भावना हुन्छ । चाडबाडकै मौका पारी व्यापारी बिरामी पशुपक्षी पनि ग्राहकलाई भिडाउँछन् । जथाभावी फोहोर ठाउँमा काट्ने, राम्रोसँग सफा नगर्ने, सुरक्षित भण्डारण नगर्ने र बासी मासुको बिक्री बढ्दो छ । त्यही मासु घरमा ल्याएर पकाउने, लामो समयसम्म राख्ने र खाने गर्दा झाडाबान्ता, अपच, रक्तचाप, क्यान्सरको खतरा बढ्दो छ । चिकित्सकका अनुसार मासुलाई स्वस्थ बनाउन फ्रिजमा १/५ सेन्टिग्रेडमा राख्ने र मजाले पकाएरमात्र खानुपर्छ ।
मापसे कम गरौँ
दसैँँमा खसीको मासुसँगै मादक पदार्थ सेवन (मापसे) त पर्याय बनिसकेको छ । स्वास्थ्यको दृष्टिकोणले अल्पमात्रामा मदिरा पिउनाले खासै हानि गर्दैन । गुणस्तरीय मदिराको ठिक्क पिउनाले मानिसको शारीरिक, मानसिक एवं कार्यगत क्षमता नै बढाउँछ । खाली पेटमा मदिरा पिउने गर्नुहँुदैन । पिउँदा फलफूल, सलाद वा सादा खाद्यान्नसँग पिउनुपर्छ ।
चिकित्सकका अनुसार रक्सी अत्यधिक पिउनाले कलेजो, मस्तिष्क, मुटुरोग, क्यान्सर, दुर्घटना, आत्महत्या र पागलपनसम्म पु¥याउँछ । रक्सीले रक्तचाप बढाउँछ । मस्तिष्क घात, प्यारालाइसिस, मुटु सुन्निने र राम्रोसँग पम्प नगर्ने रोग उत्पन्न गराउँछ । चाडबाडको अवसरमा मदिराजन्य पदार्थ बढी पिउनाले मुटुको धड्कनमा गडबडी उत्पन्न भई हर्टफेल हुन सक्छ । चाडबाडका नाममा बढी रक्सी पिउनाले शरीरका अंगहरूमा असन्तुलन हुन जान्छ ।
चिकित्सकका अनुसार बियरले हाम्रो शरीरको मेटाबोलिजममा असर गर्छ । बियर खाँदा शरीरमा पानीको मात्रा बढ्न जान्छ । त्यति नै मात्रामा शरीरमा बाहिर गएन भने शरीरमा पानीको मात्रा बढ्न गई मिर्गौलालाई असर गर्छ । एक अनुसन्धानअनुसार एक ग्लास रक्सीले समेत मिर्गौलालाई असर गर्छ । मदिरा पिउँदा प्रेसर बढेमा त्यसको असर मुटु, मिर्र्गौला, आँखालगायतका अन्य अंगमा समेत पर्छ । रक्सीमा अत्यधिक मात्रामा क्यालोरी हुन्छ । त्यसले गर्दा मानिसको तौल बढ्न जान्छ । तौल बढेपछि शरीरका विभिन्न अंगमासमेत असर गर्छ । मधुमेहको औषधि सेवन गरिरहेकाले रक्सी पिएमा मिर्गौला नै फेल हुने सम्भावना बढी हुन्छ । मधुमेहका बिरामीले रक्सी पिउने गरेमा मिर्गौलाबाट ग्लुकोज बन्न रोक्छ, जसले गर्दा मधुमेहका बिरामीको ग्लुकोज असन्तुलित हुन पुग्छ ।
रोगबाट बचौँ
दसैँँमा मासु, रोटी, तरकारी आदिमा हुने चिल्लो पदार्थ तथा पानीको कम प्रयोगले मानिसलाई माइग्रेन हुन सक्छ । फ्रिजमा राखेको खाद्यपदार्थले रुघाखोकी, ब्रोन्काइटिस हुन सक्छ । बढी मदिरा पिउँदा अम्लपित्त तथा कलेजोरोग लाग्न सक्छ । बासी खानाले झाडापखाला लाग्न सक्ने खतरा रहन्छ । छोएला, कचिला वा काँचो मासुका परिकार खाँदा नाम्लेकीरा एवम् अन्य पशुपक्षीजन्य संक्रमण भई रोगको सिकार भइन्छ । मधुमेह, रक्तचाप, मुटुरोग आदिको औषधि सेवन गररिहेकाले मासु, मदिरा तथा तासको नशामा लागेर औषधि खान बिर्सेमा हृदयाघात र पक्षघातसमेत हुन सक्छ ।
दसैँमा बेच्न राखिने मिठाइ कम गुणस्तरका हुन्छन् । बिक्री धेरै हुने भएकाले मिठाइपसले कमसल र विषाक्त सामग्री राखेर मिठाइ बेचिरहेका हुन्छन् । त्यस्ता मिठाइ खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ । बरु, तनाव तथा डिप्रेसन बढ्छ । खराब कोलेस्ट्रोल बढ्छ । जीवाणुको संक्रमण हुन्छ । क्यान्सर, मधुमेह, आँखाको शक्ति कमजोर, दम, बाथ, पत्थरी, मुटुरोग, ग्रोथ हार्मोनमा ह्रास, एलर्जी, दाँतको रोग, मोटोपना, हाडमा कमजोरी, भिटामिन तथा खनिज पदार्थ अभाव आदिको खतरा रहन्छ ।
नखेलौँ जुवा र तास
एक तथ्यांकअनुसार दसैँमा ८० प्रतिशत वयस्क र वृद्धले तास खेल्ने गर्छन् । कोही–कोही त रातभरि नै तास खेलेर बिताउँछन् । धेरै पैसा राखेर रातभरि खेल्दा जित्नैपर्ने सोचसँगै तनाव बढ्छ । पैसा हारेको समयमा तनावमा खेल्ने र सुत्नसमेत बिर्सने हुन्छ । यसले स्वास्थ्य बिगार्छ । १ प्रतिशत मानिस जुवातासका अम्मली नै हुन्छन् । उनीहरूलाई तास खेल्न नपाए छटपटी हुन्छ । तासकै कारण पारिवारिक झगडा र आर्थिक अभावले पनि तनाव दिन सक्छ । उनीहरूमा पारिवारिक तनाव बढ्दै जान्छ र आर्थिक संकट पर्न सक्छ । जसले गर्दा उसलाई मानसिक समस्या उत्पन्न हुन सक्छ ।
सजग होऊँ, रातभरि तास खेल्ने भने गर्नुहँुदैन । दुई÷तीन दिन यही अवस्था भएमा त निद्राको चक्र नै खल्बलिन्छ र अनेक समस्यासमेत देखिन थाल्छ । निद्राको चक्र खल्बलिएपछि मानिस रिसाउने, चिडचिडापन बढ्ने र झर्किने समस्या देखिन्छ । यस्ता व्यक्ति स–सानो कुरामा रिसाउने भएकाले उनीहरूसँग झगडासमेत हुन सक्छ । चाडबाडको नाममा रातभरि खेल्दा नकारात्मक असर पर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us