२४० सिटमा ६१५८ उम्मेदवार, १८५ को उम्मेदवारी फिर्ता

काठमाण्डु टुडे २०७० असोज २२ गते १४:५५ मा प्रकाशित

nirbachan-aayogकाठमाण्डु–बिभिन्न जिल्लाका १ सय ८५ उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । १ सय ८५ उम्मेदवारको उम्मेदवारी फिर्ता भएपछि २ सय ४० निर्बाचन क्षेत्रमा अब ६ हजार १ सय ५८ जना उम्मेवार चुनाव लड्ने भएका छन् ।

गत विहीबार मनोनयन दर्ता गराएका मध्ये ६ हजार ३ सय ४३ सदर उम्मेदवारको सूची आयोगले सोमबार प्रकाशित गरेको थियो । सोमबार प्रकाशित सूची मध्येबाट पनि उम्मेदवारी फिर्ता लिन आयोगले मंगलबार विहान १० बजेदेखि बेलुका पाँच बजेसम्मको समय दिएको थियो ।

आयोगका अनुसार सबैभन्दा बढी मध्यमान्चलमा ८६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै मध्य पश्चिमान्चलबाट ३३ जना, पूर्वान्चलबाट ३० जना, पश्चिमान्चलमा २० जना र सुदूरपश्चिमान्चलमा १६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्बाचन आयोगका प्रवक्ता बीर बहादुर राईले जानकारी दिए ।

विहीबार मनोनयन दर्ता गराएकामध्ये ११ जनाको भने प्रकृया नपुगेको भन्दै आयोगले सोमबारै रद्ध गरेको थियो ।

कोइराला र पौडेलको वागी उम्मेदवारी यथावत

यसैबीच नेपाली काँग्रेसका सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलको वागी उम्मेदवारी यथावत रहेको छ । काँग्रेस बरिष्ठ नेता शेर बहादुर देउवाको भने वागी उम्मेदवारी फिर्ता भएको छ ।

चितवन क्षेत्र नम्बर ४ मा काँग्रेस सभापति कोइराला विरुद्ध वागी उम्मेदवारी दिएका विकास कोइरालाले आफ्नो उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका हुन् । तर उनले क्षेत्रनम्बर ३ मा काँग्रेसका आधिकारिक उम्मेदवार भीमबहादुर श्रेष्ठ विरुद्धको भने वागी उम्मेदवारी फिर्ता लिएका छन् ।

विकास कोइराला चितवन काँग्रेसका पूर्वजिल्ला सभापति हुन् । उनी युवामाझ लोकप्रीय छन् ।

यसैगरी तनहुँ क्षेत्रनम्बर २ मा काँग्रेस उपसभापति रामचन्द्र पौडेल विरुद्ध वागी उम्मेदवारी दिएका पूर्णबहादुर गुरुङले पनि उम्मेदवारी फिर्ता लिएको छैनन् । तरुण दल केन्द्रीय सदस्य रहेका गुरुङ खुमबहादुर खड्का निकट हुन् ।

बरिष्ठ नेता शेर बहादुर देउवा विरुद्धको वागी उम्मेदवारी भने फिर्ता भएको छ । कैलाली क्षेत्र नम्बर ६ मा देउवाका वागी उम्मेदवार गंगा कुँवरले आज जिल्ला निर्बाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएका छन् । कुँवरले क्षेत्रनम्बर १ का रण बहादुर रावल विरुद्ध दिएको उम्मेदवारी पनि फिर्ता लिएका छन् ।

ललितपुर क्षेत्रनम्बर १ मा काँग्रेसका आधिकारिक उम्मेदवार तरुण दल अध्यक्ष उदय शमसेर राणा विरुद्ध वागी उम्मेदवारी दिएका गणेश बहादुर केसीले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् ।

उम्मेदवारी फिर्ता लिन एमालेले वाध्य पार्यो : माले

यसैबीच नेकपा मालेले आफ्ना उम्मेदवारलाई एमालेले डर धम्की दिएर उम्मेदवारी फिर्ता लिन बाध्य पारेको आरोप लगाएको छ ।

केन्द्रीय कार्यालयका सचिव जेपी केरुङले मंगलबार विज्ञप्ति निकालेर उम्मेदवारलाई अपहरणको शैलीमा कब्जामा लिई उम्मेदवारी फिर्ता गराउने कार्यको भत्र्सना गरेका छन् ।

कालिकोट जिल्ला कमिटीका सचिव कालिबहादुर शाही र कालिकोटका पार्टी उम्मेदवार लक्ष्मीप्रसाद उपाध्यायलाई एमाले कार्यकर्ताहरुले भिजिलान्ते र गुण्डागर्दी शैलीमा करकापमा पारी उम्मेदवारी फिर्ता गराएको मालेको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us