आयरल्यान्डमा माथिल्लो संसद हटाउने विषयमा जनमतसङ्ग्रह

काठमाण्डु टुडे २०७० असोज १८ गते १७:४७ मा प्रकाशित

डब्लिन, १८ असोज –वित्तीय समस्यामा परेको आयरल्यान्डका जनता शुक्रबार प्रधानमन्त्री एन्डा केनीले संसदको माथिल्लो सभा हटाउन राखेको विवादास्पद प्रस्तावमा जनमत सङ्ग्रहमा गएका छन् ।
अभिमत सर्वेक्षणहरूले संसदको माथिल्लो सभा सिनाद अर्थात सिनेट हटाउने योजनामा मतदाताले समर्थन गर्ने देखिएको छ । प्रधानमन्त्री केनीले संसदको यो सभा संभ्रान्तवादी र अप्रभावकारी भएको बताएका छन ।
प्रधानमन्त्री केनीको योजनाको विरोध गर्नेहरूले पनि ६० स्थानको माथिल्लो सभाले वर्तमान स्वरूपमा काम गर्न नसक्ने बताएका छन् र उनीहरूले यस सभालाई हटाउनु भन्दा त्यसमा सुधार हुनु उपयुक्त हुने धारणा राखेका छन् ।
आयरल्यान्ड अझै पनि पीडादायक आर्थिक सुधारमा रहेको छ र जनता खर्चिलो सरकारबाट क्रुद्ध देखिएका छन् । गत वर्षको आम निर्वाचनमा प्रधानमन्त्री केनीले माथिल्लो सभा हटाउने विषयलाई अगाडि बढाइ आफ्नै दल फाइन गेलका सदस्यहरूलाई अचम्ममा पार्नुभएको थियो । फाइन गेलले माथिल्लो सभा हटाउँदा मुलुकले दुई करोड युरो जोगाउनसक्ने धारणा राखेका छन् ।
मतदानका समयमा छुट्टै पुनरावेदन अदालत स्थापना गर्ने वा नगर्ने भन्ने पनि प्रश्न गरिएको छ । हाल यहाँको सर्वोच्च अदालतमा कामको निकै चाप परेको बताइन्छ ।
यसका लागि मुलुकभर छ हजार मतदान केन्द्र रहेका छन् । मतदान अधिकारीहरूले शनिबार मध्याह्नसम्म मतदानको नतिजा प्राप्त हुने बताएका छन् । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us