राष्ट्रपति ओबामाको एसिया भ्रमण रद्द

काठमाण्डु टुडे २०७० असोज १८ गते १३:२० मा प्रकाशित

क्वालालम्पुर, १८ असोज–संयुक्त राज्य अमेरिकामा विपक्षीहरुको विरोधका कारण बजेट पास हुन नसकेपछि राष्ट्रपति बाराक ओबाले यसैसातादेखि गर्न लागेको एसिया भ्रमण रद्द भएको छ ।
राष्ट्रपतिको कार्यालयले बिहीबार एक विज्ञप्तिमार्फत राष्ट्रपति ओबामाको उक्त भ्रमण रद्द भएको जानकारी गराएको हो । ओबामा इन्डोनेसियाको बालीमा हुन लागिरहेको एपेकको सम्मेलनमा सहभागि हुने कार्यक्रम थियो ।
राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बजेटमा देखिएको अवरोधका कारण अमेरिकामा आर्थिक असहजता उत्पन्न भएको र त्यसैका कारण राष्ट्रपति ओबामा देशबाहिर जानसक्ने अवस्था नरहेको जनाएको हो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अक्टोबर ११ तारिखदेखि मलेसियासहितका केही एसियाली देशको भ्रमण गर्ने कार्यक्रम थियो ।
ओबामाले दक्षिण पूर्वी एसियाली देशहरु मलेसिया, ब्रुनाई, इन्डोनेसिया आदिको एक सामुहिक संस्थाको अन्तर्राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम थियो ।
ओबामाले ब्रुनाइमा हुन लागेको इस्ट एसिया सम्मेलनमा पनि सहभागिता जनाउने कार्यक्रम थियो । दुई दिनअघिमात्र ओबामाले हालका लागि एसियाली राष्ट्रहरुको भ्रमणको कार्यक्रम स्थगित भएको बताएका थिए । तरपनि बिहीबार ह्वाइट हाउसले सो भ्रमण रद्द नै गरिएको जानकारी दिएको हो । ती बैठकहरुमा अमेरिकी विदेश मन्त्री जोन केरीलाई पठाइने जानकारी पनि गराइएको छ ।
हलको बजेट विवादका कारण अमेरिकी डलरको मूल्यपनि एसियाली देशहरुमा कमी आएको पाइएको समाचारमा उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति ओबामाले इन्डोनेसियाका राष्ट्रपति सुशिलो बामबाङ युधोयुनो र ब्रुनाईका राजा सुल्तानलाई आफू आउन नसकेकोमा दुःख पनि व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त राज्य अमेरिकामा केही दिनयतादेखि बजेटका बारेमा छलफल भइरहेको छ । तर उक्त बजेट संसदबाट पारित हुन सकिरहेको छैन । जसका कारण आर्थिक समस्याहरु देखा परिसकेको छ । राष्ट्रपति ओबामाले विपक्षी रिपब्लिकनहरुले असहयोग गरेका कारण बजेट पारित हुन नसकिरहेको टिप्पणी गरेका छन । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us