डुँगा डुब्दा तीनसय जनाको ज्यान गएको आशङ्का

काठमाण्डु टुडे २०७० असोज १८ गते २:४४ मा प्रकाशित

रोम, १८ असोज–इटालीमा शरणार्थी चढेको एउटा डुङ्गा दुर्घटनामा परी करिब ३०० जना मारिएको हुनसक्ने आशङ्का गरिएको छ ।
इटालीको लाम्पेदुसा द्वीप नजिकै उक्त डुँगा दुर्घटना हुँदा त्यसमा परी आजसम्ममा एक सय जनाको ज्यान गइसकेको छ । तर त्यो सङ्ख्या निकै धेरै मात्रामा बढ्नसक्ने पनि आशङ्का गरिएको छ ।
दुर्घटनाग्रस्त डुङ्गाको नजिकैबाट एक सय वटा शव भेटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त डुङ्गामा रहेका नागरिकको सङ्ख्या यकिन हुन सकिरहेको छैन ।
सो डुँगामा सवार गर्ने व्यक्ति पाँच सय जना रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त डुँगामा शरणार्थी चढेका थिए ।
दुर्घटनाग्रस्त भएको उक्त डुङ्गामा हराएका व्यक्तिको खोजीकार्य जारी रहेको पनि समाचारमा जनाइएको छ । तर पनि १६ घन्टायतासम्म कुनैपनि शव वा जीवित व्यक्ति भेट्न सकिएको छैन ।
घटना भएको १६ घन्टा पुगिसकेको छ र यस  अवधिमा १५१ जनाको मात्र जीवितै उद्वार गरिएको छ र उक्त डुँगामा रहेका भनिएका पाँच सय जनाका बारेमा अहिलेसम्ममा पनि कुनै सूचना प्राप्त हुन सकेको छैन– एकजना सुरक्षाअधिकारीले जनाएका छन् ।
सो डुङ्गामा अधिकांश अफ्रिकी देशबाट शरणको खोजीमा निस्किएका नागरिक रहेका बताइन्छ । तर कुन देशका कतिजना थिए भन्ने बारेमा अझै स्पष्ट हुन सकिरहेको छैन ।
इटालीको गृह मन्त्रालयका प्रवक्ताले हराएकाहरूको खोजी व्यापकरूपमा भइरहेको बताएका छन । तर अब दुर्घटनाको समय निकै लामो भइसकेकाले पानीबाट ती नागरिकको जीवित उद्वार निकै कठिन हुनसक्ने आशङ्का गरिएको उनले बताए ।
शरणको खोजीमा निस्किने आप्रवासीहरुको अधिकारको सुरक्षा हुन नसक्दा उनीहरुको निकै ठूलो मात्रामा ज्यान जाने गरेको बताइएको छ ।
एक तथ्याङ्कअनुसार गएको २० वर्षमा यसरी शरणको खोजीमा निस्किने कम्तीमा पनि १७ हजार नागरिकको ज्यान गएको छ ।
शरणको खोजीमा निस्किएका नागरिकलाई उचित मात्रामा सुरक्षाको प्रबन्ध हुनुपर्नेमा संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले बताएका छन । रासस/एएफपी

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us