
काठमाण्डु, १८ असोज–आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिएका दलहरुले निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
एकीकृत माओवादी, काँग्रेस, एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राप्रपा, राप्रपा नेपाल, फोरम नेपाल, फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, सद्भावना, संघीय सद्भावना र संघीय समाजवादी पार्टीलगायतले निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका हुन् । बन्द सूची बुझाउन एकीकृत माओवादीका वर्षमान पुन, गिरिराजमाणि पोखरेल, हितराज पाण्डे, काँग्रेस महामन्त्री कृष्ण सिटौला, एमाले सचिव विष्ण्ुा पौडेल, पोलिट्ब्युरो सदस्य विष्ण्ुा रिमाल, केन्द्रीय सदस्य खरेललगायत निर्वाचन आयोग पुगेका थिए ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समय तोकिए पनि साँझ अबेरसम्म दल दर्ताको क्रम जारी थियो । निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले १ सय २१ दलले समानुपातिक उम्मेदवारको सूची पेश गरेको बताए । समानुपातिक निर्वाचनमा भाग लिन चाहाने १ सय २४ दलले गत असोज १४ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए । आयोगले आगामी संविधानसभाको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलको अन्तिम नामावली बिहीबार प्रकाशन गरी चुनाव चिन्हसमेत दिएको थियो ।
बन्दसूचीमा रहेका उम्मेदवारको नामावली सच्याउन आयोगले २५ असोजसम्मको समय दिएको छ । समानुपातिक उम्मेदवारको अन्तिम सूची २९ असोजमा सार्वजनिक गर्ने कार्यतालिकामा उल्लेख छ । यस्तै असोज ६ गते बन्दसूची सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ । समानुपातिक निर्वाचनमा पाएको मतमा आधारमा दलहरुले संविधानसभामा प्रतिनिधि चयन गर्नेछन् । ६ सय १ सदस्यीय संविधानसभामा ३ सय ३५ सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट आउनेछन् ।
त्यस्तै निर्वाचन आयोगले शुक्रबार नै प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनपत्र दर्ताको सूची सार्वजनिक गरेको छ । देशभर २ सय ४० सिटका लागि ६ हजारभन्दा बढीले बिहीबार उम्मेदवारी दिएका थिए ।
कुन दलका को–को समानुपातिकमा ?
दलहरुले बन्दसूचीमा रहेका उम्मेदवारका नाम सार्वजनिक गरेका छैनन् । यद्यपि स्रोतले जनाएअनुसार एकीकृत माओवादीले दीनानाथ शर्मा, हेमन्तप्रकाश ओली, सन्तु दराई, शशी शेरचन, शशी श्रेष्ठ, कमला रोका, देवी खड्का, दिलीप महर्जन, रामचरण चौधरी, विश्वनाथ शाह, खुसीराम पाख्रिन, खिमलाल देवकोटा, सवीना अर्याल, टीका बास्तोला, बलावती शर्मा, जाकिर हुसेन, जलिम मियाँ, लक्की शेर्पा, सुरेन्द्र जैसवाल र केही दिनअघि मात्र एमालेबाट प्रवेश गरेका विषमलाल अधिकारी दनुवारलगायतलाई समानुपातिकमा राखेको छ ।
यस्तै एमालेले भारतमोहन अधिकारी, अमृतकुमार बोहरा, विद्यादेवी भण्डारी, अष्टलक्ष्मी शाक्य, प्रदीप नेपाल, नागेन्द्र चौधरी, गंगालाल तुलाधार, काशीनाथ अधिकारी खगराज अधिकारी, नरेश खरेल, भानुभक्त ढकाल, श्रीमाया थकाली, थममाया थापा, दलबहादुर राना, देवुराम भुसाललगायतलाई समानुपातिकमा राखेको छ ।
यस्तै काँग्रेसबाट केबी गुरुङ, चित्रलेखा यादव, डा. मीनेन्द्र रिजाल, सुजाता कोइराला, प्रदीप गिरी, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, मनमोहन भट्टराई, सूर्यमान गुरुङ, सुरेन्द्र पाण्डे, कमला पन्त, डीना उपाध्याय, अम्बिका बस्नेत, जीवन परियार सुजाता परियार, मीन विश्वकर्मा, मेहेन्द्र यादव, मीना सुब्बा, सीता गुरुङ, आरजु देउवा राणालगायतलाई समानुपातिक उम्मेदवार बनाएको छ । काँग्रेसका समानुपातिक उम्मेदवार अधिकांश पूरानै छन् ।
थापाद्वय र केसी पनि समानुपातिकमा
राप्रपा अध्यक्ष सूर्यबहादुर थापा पनि समानुपातिक उम्मेदवार बनेका छन् । पाको उमेरका कारण दौडधुप गर्न नसक्ने भन्दै पहिला प्रत्यक्षमा लड्ने तयारी गरेर पनि थापा पछि समानुपातिक उम्मेदवार बनेका हुन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि समानुपातिका उम्मेदवारी दिएका छन् पहिला काठमाण्डु ४ र मकवानपुर–१ बाट उठ्ने घोषणा गरेका थापा चुनाव हारिने डरले समानुपातिकमा बसेका हुन् । तर प्रचार संयोजक मोहन श्रेष्ठले अध्यक्ष थापा निर्वाचनको माहौल बनाउन देशभर पुग्नुपर्ने भएका कारण प्रत्यक्ष थापा निर्वाचनको माहौल बनाउन प्रत्यक्ष उम्मेदवार नबनेको दाबी गर्छन् ।
गत संविधानसभामा उखान टुक्कामार्फत गाउँले शैलीमा आफ्ना कुरा राखेर चर्चामा आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि यो पटक समानुपातिकमा उम्मेदवारी दिएका छन् । उनी यसअघि २०५६ सालको आमनिर्वाचन र २०६४ सालको संविधानसभामा निर्वाचनमा बागलुङ–२ बाट निर्वाचित भएका थिए । ‘एउटै जिल्लाको एउटै क्षेत्रबाट पटकपटक जित्दा देशका अन्य भागमा ध्यान पुर्याउन सकिएन’, केसीले काठमाण्डु टुडेसँग भने, समानुपातिकबाट भइयो भने पार्टीका नीति, विचार र कार्यक्रम लिएर देशका सबै क्षेत्रमा जान पाइयो ।’ उनले आफूले निर्वाचन अवधिभर हिमाल, पहाड र तराईमा आफूले राजनीतिक लाइन पुर्याउने बताए ।