एमाओवादी,काँगेस र एमालेका असन्तुष्टबाट बागी उम्मेदवारी

काठमाण्डु टुडे २०७० असोज १७ गते ११:४० मा प्रकाशित

काठमाण्डु, १७ असोज– प्रत्यक्ष निर्वाचनमा टिकट नपाएका कारण असन्तुष्ट भएकाहरुले विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता गराउन थालेका छन् ।
काँग्रेस सभापतिविरुद्ध बागी
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाविरुद्ध चितवनमा बागी उम्मेदवारी दर्ता भएको छ ।
काँग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाले सुशीलविरुद्ध क्षेत्र नम्बर–३ मा बागी उम्मेदवारी दिएका हुन् । उनले चितवन– ४ मा समेत पार्टीका आधिकारिक नेताविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् ।

गगनकाे विरुद्धमा सुप्रभा

काठमाण्डु–४ मा काँग्रेस काँग्रेसका आधिकारिक उम्मेदवार गगन थापाविरुद्ध पूर्वसभासद् सुप्रभा घिमिरेले बागी उम्मेदवारी दर्ता गराएकी छिन् । काग्रेसले महिला र पहिला जितेको उम्मेदवारका ठाँउमा नयाँ उम्मेदवार पठाएको भन्दै घिमिरेले बुधवार काग्रेस परित्यागको घोषणा गरेकी थिइन् । घिमिरेले स्थानीय काग्रेस नेता–कार्यकर्ताकै आग्रहमा उम्मेदवारी दर्ता गराएको जानकारी दिइन ।

यस अघि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग चुनाव लडने भनेर प्रचार गरेका काग्रेस नेता गगन थापाले अन्तिम समयमा आएर पूर्वसभासद घिमिरेको टिकट खोसेका थिए । थापाले टिकट खोसेपछि स्थानीय काग्रेस नेता–कार्यकर्ता समेत विभाजित भएका छन् । घिमिरेले आफनो उम्मेदवारी फिता नलिएमा एकीकृत माओवादी उम्मेदवार नन्दबहादुर पुन पासाङलाई लाभ हुनेछ ।

पौडेलविरुद्ध पनि बागी
तनहुँ–२ मा कांग्रेस उपसभापति रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी परेको छ । तरुण् केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।  गुरुङका समर्थकले उनलाई उम्मेदवार नबनाएको भन्दै बुधबार काँग्रेस तनहुँको कार्यालयमा तालाबन्दी गरेका थिए ।
यस्तै एकीकृत माओवादीका उम्मेदवार सूर्यमान दोङविरुद्ध काभ्रेमा बागी उम्मेदवारी दर्ता भएको छ । काभ्रे–१ मा दोङविरुद्ध स्थानीय वाइसीएल नेता तेजप्रसाद गौतमले उम्मेदवारी दिएका हुन् ।

रामचन्द्र झाविरुद्ध श्रवण यादव

उता  धनुषा–१ मा एमाओवादीका रामचन्द्र झाविरुद्ध श्रवण यादवले उम्मेदवारी दिएका छन् । झा केही महिनाअघि मात्र एमाले छाडेर एकीकृत माओवादी प्रवेश गरेका थिए ।

एकीकृत माओवादीको काठमाण्डु–३ मा पनि बागी उम्मेदवारी परेको छ । पार्टीले मजदुर नेता गणेश रेग्मीलाई आधिकारिक उम्मेदवार बनाएको थियो । रेग्मीको उम्मेदवारीको विरोधमा गंगाबहादुर लामाले उम्मेदवारी दिएका छन् । सशस्त्र युद्धताका सरकारी सुरक्षाकर्मीको गोली लागेका लामाका दुवै खुट्टा छैनन् ।

रसुवामा एकीकृत माओवादीका इन्द्र गौतमले बागी उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला कमिटीले गौतमको नाम सिफारिस गरेर पठाए भए पनि केन्द्रले प्रेमबहादुर तामाङलाई टिकट दिएको थियो । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा गत संविधानसभा निर्वाचनमा तामाङ विजयी भएका थिए ।

पार्टीको आधिकारिक निर्णयविपरीत नेता बाबुराम भट्टराईको दबाबमा तामाङलाई उम्मेदवार बनाइएकाले आफूहरुले गौतमलाई उम्मेदवार बनाएको  एमाओवादी रसुवाका राज्य समिति सदस्य मेघनाथ घिमिरेले बताए । तामाङ ताम्शालीङ राज्य समिति सदस्य र गौतम ताम्शालीङ राज्यका सचिवालय सदस्य र जिल्ला संयोजक हुन् ।
यस्तै एकीकृत माओवादीका उम्मेदवार सूर्यमान दोङविरुद्ध काभ्रेमा बागी उम्मेदवारी दर्ता भएको छ । काभ्रे–१ मा दोङविरुद्ध स्थानीय वाइसीएल नेता तेजप्रसाद गौतमले उम्मेदवारी दिएका हुन् ।

उता कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२ मा काँग्रेसका अतहर कमालले बागी उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेस केन्द्रले उनको स्थानमा राजेश आचार्यलाई टिकट कमालले आमकार्यकर्ताको भावनाविपरीत पार्टीले आचार्यलाई उम्मेदवार बनाएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।कमाल गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उता सुर्खेत–२ मा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । एमाले जिल्ला उपाध्यक्ष विशप्रसाद उपाध्यायले बागी दिएका हुन् । जिल्लाले आफूलाई सिफारिस गरे पनि केन्द्रले यमलाल कँडेललाई उम्मेदवार बनाएकाले आफूले बागी दिएको उपाध्यायाले बताए । कँडेल अध्यक्ष झलनाथ खनाल र उपाध्याय नेता केपी ओली पक्षधर हुन् ।

यस्तै दाङ–१ मा पनि काँग्रेसको बागी उम्मेदवारी परेको छ । केन्द्रले पार्वती डीसी चौधरीलाई टिकट दिए पनि महासमिति सदस्य डिलाराम खनालले उम्मेदवारी दिएका हुन् । सो क्षेत्रमा भ्रष्टाचार आरोपमा जेलमा रहेका नेता खुमबहादुर खड्काकी पत्नी शीला खड्कालाई उठाउने तयारी भए पनि खड्काले सदरखोर जेलबाटै विज्ञप्ति निकालेर उम्मेदवारी रद्ध गरेका थिए ।

यस्तै नवलपरासीमा काँग्रेसका दुई नेताले बागी दिएका छन् । नवलपरासी–४ मा क्षेत्रीय सभापति गुणनिधि तिवारी र ५ बाट राधेश्याम पाठकले क्षेत्र नं ५ बाट बागी उम्मेदवारी दिएका हुन् ।

यता ललितपुर– १ मा कांग्रेस र २ मा एमाओवादीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता भएको छ । ललितपुर–१ मा तरुण दल अध्यक्ष उदयशमशेर राणाविरुद्ध गणेश केसीले बागी उम्मेदवारी दिएका हुन् । राणा परिवारभित्रका व्यक्तिलाई व्यक्तिलाई लगातार पाँच पटकसम्म टिकट दिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् ।
ललितपुर–२ मा एमाओवादी उम्मेदवार सरोजसिंह डंगोलविरुद्ध जनक थापाले उम्मेदवारी दिएका छन् । आफू सिफारिसमा परे पनि टिकट नपाएको भन्दै उनले उम्मेदावरी दिएका हुन् ।

एमाओवादी सम्पति छानविन आयोगबाट डामिएमा कुशवाह सदभावनाबाट उम्मेदवार
एकीकृत माओवादीको सम्पति छानविन आयोगको सिफारिसमा कार्बाहीमा परेका बाराका पूर्वसंयोजक शिवचन्द्र कुशवाह राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गरेका छन । उनले सदभावना पार्टीका तर्फबाट बारा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । आयोगको सिफारिस कार्यान्वयन गर्ने क्रममा कुशवाहलाई बाराको संयोजकबाट एकीकृत माओवादीले हटाएको थियो ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us