शीर्षको कार्यशैलीको त्रुटीले पुरानो पुनरावृत्ति दोहोरियो

काठमाण्डु टुडे २०७० असोज १६ गते १८:२६ मा प्रकाशित

काठमाण्डु, १७ असोज–नेपाली जनताको छ दशकभन्दा लामो समयदेखिको संविधानसभाबाट नयाँ संविधान जारी गर्ने चाहनाअनुरूप मुलुकमा हुन लागेको अर्काे संविधानसभाको निर्वाचनको लागि  उम्मेदवारले बिहिवार मनोनयन दर्ता गर्दैछन् ।
निर्वाचनको तयारी सँगसँगै अन्तिम समयमा आएर निर्णय गर्ने र समय घर्केपछि पछुताउने काममा दलहरू फेरि पनि सतहमा देखिएका छन् ।
निर्वाचनको मुखमा आएर हतारमा निर्णय गर्ने, हतारमै एउटा पार्टीबाट अर्को पार्टीमा भित्र्याउने कामले शीर्ष नेताहरूको कार्यशैलीमा नै कमजोरी छ भन्ने पनि देखिएको छ । यसले नेपाली राजनीतिलाई कता लैजाला र कुन हविगतमा राजनीतिक दलहरूलाई उभ्याउला भन्ने आशंका समेत जन्माइदिएको छ ।
२०६२÷६३ सालको जनआन्दोलनपछि आन्दोलनकारी दलहरूबीच सहमति भई जारी भएको अन्तरिम संविधानअनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेर मङ्सिर ४ गते संविधानसभाको निर्वाचन हुँदैछ । जसअनुसार प्रत्यक्षतर्फ २४० र समानुपातिकतर्फ ३३५ कायम रहनेछ ।
संविधानसभालाई सबै जातजाति, वर्ग, क्षेत्र, लिङ्ग समेटेर  समावेशी बनाउने मान्यता बमोजिम प्रत्यक्ष ४२ र समानुपातिकतर्फ ५८ प्रतिशत प्रतिनिधित्वको संवैधानिक व्यवस्था गरिएको छ ।

निर्वाचनको मिति नजिक आइरहँदा उम्मेदवार छनौट कार्यमा दलहरू निरन्तर बैठक बसेर अहोरात्र खटिइरहेका छन् । अन्तिम अवस्थामा आएर चटारो गर्ने रोगले फेरि पुनरावृत्ति पाएको छ । मनोनयन दर्ता गर्ने समय २४ घण्टा बाँकी रहँदासमेत उम्मेदवारको छनौट कार्यले अझै पूर्णता पाउन सकेको छैन ।
बल्लतल्ल प्रत्यक्षतर्फको उम्मेदवारको छनौटलाई अन्तिम रूप दिइएको भएता पनि सिफारिस भएका नामावलीप्रति राजनीतिक दलहरूभित्रै आपत्ति जनाइएका घटनाहरू सार्वजनिक भएका छन् । यो सँगसँगै पार्टी परित्याग गर्ने र भित्र्याउने क्रमले तीव्रता पाएको छ । यसले लामो समयदेखि पार्टीको आदर्श, सिद्धान्त र सङ्गठनप्रति लगावका साथ काम गरेका नेता तथा कार्यकर्तालाई मर्माहत बनाएको छ ।
एकाएक यसरी पार्टी छोड्ने र भित्र्याउने क्रमले नेपाली राजनीतिमा राम्रो सन्देश जान्छ होला भन्न सकिने अवस्था छैन । भलै पार्टी विशेषलाई निर्वाचनका मुखमा निर्वाचनको माहौल आफ्नो पक्षमा तुल्याउन तत्काललाई फाइदाजनक देखिएतापनि दीर्घकालीन रूपमा यस्तो घुमन्ते प्रवृत्तिले पार्टीको साखलाई बलियो तुल्याउला भन्ने आँकलन गर्न कठिनाइ हुने देखिन्छ ।
यसैबीच, नेकपा (एमाले)का प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले चुनावका मुखमा आएर आफूले लामो समयदेखि योगदान पु¥याएको पार्टी परित्याग गर्ने र भित्र्याउने संस्कार अलोकतान्त्रिक भएको टिप्पणी गरे । उनले भने,‘यतिखेर अन्य पार्टीबाट आएका व्यक्तिले पार्टी बलियो हुन्छ भन्ने भ्रम हो, राष्ट्र र लोकतन्त्र सङ्कट परेको बेला थाम्न नसक्ने व्यक्ति अवसरवादी हुन्, यस्ताबाट लोकतन्त्रलाई कमजोर तुल्याउने काम हुन्छ ।’
एकीकृत नेकपा(माओवादी) नेता लोकेन्द्र विष्टले अन्तिम क्षणमा आएर हतारोमा निर्णय गर्ने नेपाली परम्परा र संस्कारको पुनरावृत्ति हुनु भनेको पार्टी नेताको कार्यशैलीमा त्रुटी छ भन्ने स्पष्ट सङ्केत गर्दछ भने ।
‘मुख्य मुद्धाभन्दा सहायक कामलाई प्राथमिकता दिने कार्यको यो शैलीले नै हामीलाई पछि पारेको हो’ उनले भने,‘निर्वाचनको मुखमा आएर पार्टी छोड्ने र भित्र्याउने प्रवृत्तिले हाम्रो राजनीतिलाई स्थिर भएको छैन भन्ने सङ्केत गर्दछ । यसलाई राम्रो र नराम्रो दुवै पाटोबाट हेर्न सकिने भएपनि अस्थिर राजनीतिको पराकाष्ठाको रूपमा लिनु पर्छ ।’
नेपाली काँग्रेसका नेता मोहम्मद अफताव आलमले राजनीतिक दलले सुझबुझका साथ पहिलेदेखि नै उम्मेदवार छनौटका लागि गृहकार्य गर्नुपर्दथ्यो त्यो हुन नसक्दा पुरानो रोग पुनरावृत्ति भएको टिप्पणी गरे । उनले भने,‘पार्टीप्रति निष्ठावान कार्यकर्ता कुनै अवसर नपाए पनि इमान्दारीता देखाउने हुँदा एकाधले पार्टी परित्याग गर्दैमा कुनै दल विशेषलाई धेरै क्षति वा फाइदा पुग्दैन ।’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us