नेपाली कामदारको अवस्थाबारे कतार सरकारको ध्यानाकर्षण

काठमाण्डु टुडे २०७० असोज १८ गते १३:०२ मा प्रकाशित

काठमाण्डु–परराष्ट्र मन्त्रालयले कतार सरकारसँग त्यहाँ कार्यरत नेपालीको अवस्थाका वारेमा जानकारी मागेको छ । मन्त्रालयकी निमित्त सचिव अम्बिकादेवी लुइँटेलले नेपालका लागि कतारी राजदूत अहमद जसिम मोहमद अली अल हमारसँग बुधवार भेटेर कतारमा कार्यरत नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन ।
लुइटेलले कतारका विभिन्न भागमा कार्यरत नेपाली श्रमिकहरूको दयनीय अवस्था चित्रण गर्दै बेलायतको लन्डनबाट प्रकाशन हुने ‘द गार्डियन’ले हालै प्रकाशित गरेको समाचारबारे राजदूत हमारको ध्यानाकर्षण गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
“नेपाली नागरिकहरूलाई रोजगारी दिँदै आएका कतारी कम्पनीले रोजगारी करारनामामा उल्लेख भएका प्रावधान पालना गराउनुपर्नेमा जोड दिनुभयो”–मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।
राजदूत हमारले नेपाली कामदारको अवस्थाप्रति कतारी सरकार गम्भीर रहेकाले समस्या समाधानका लागि कुनै कसर बाँकी नराख्ने आफ्नो मुलुकको सरकारको प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी दोहास्थित नेपाली दूतावासका कार्यबाहक राजदूतले नेपाली श्रमिकका विषय र उनीहरूले भोग्नुपरेका प्रमुख समस्याबारे त्यहाँको परराष्ट्र मन्त्रालयका अधिकारीलाई भेटेर जानकारी गराएको उक्त मन्त्रालयले जनाएको छ ।
कतारी विदेश मन्त्रालयका अधिकारीहरूले पनि समस्या समाधान गर्ने आश्वासन दिएको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीका समस्याको अध्ययन गर्न उच्चस्तरीय भ्रमण टोली पठाइने

सरकारले वैदेशिक रोजगारमा देखिएका समस्याको समाधान गर्न कतारलगायतका खाडी मुलुकमा उच्चस्तरीय भ्रमण दल पठाउने भएको छ । विदेशी भूमिमा नेपाली कामदारले भोग्नुपरेका समस्याको सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारले भ्रमण दल पठाउन लागेको हो ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा परराष्ट्र तथा गृहमन्त्री माधवप्रसाद घिमिरे, श्रम तथा रोजगार मन्त्री, मुख्य सचिव, परराष्ट्र मन्त्रालयका निमित्त सचिव, वैदेशिक विभागका महानिर्देशकलगायतका उच्चअधिकारीको उपस्थितिमा बुधवार बसेको बैठकले भ्रमण दल सम्बन्धित मुलुकमा पठाई समस्या समाधान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले नेपाली कामदारको हकहित संरक्षण गर्न नेपालको प्रचलित कुनै कानुनले बाधा पु¥याएमा त्यस्ता कानुनको संशोधन प्रक्रिया अघि बढाउने र खाडी मुलुकका दूतावासमा आवश्यकतानुसार जनशक्ति थप गर्न आवश्यक कदम चाल्ने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us