प्रतिबन्ध लगाइएपछि साइकलयात्री क्रुद्ध

काठमाण्डु टुडे २०७० असोज १६ गते १७:२० मा प्रकाशित

कोलकाता–भारतको मध्य भागमा रहेको कोलकाता नगरमा स्थानीय सरकारले प्रमुख सडकमा यातायात चापका कारण साइकलमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि क्रुद्ध भएका साइकलयात्रीहरूले बुधबार ठूलो हल्लाका साथ विरोध प्रदर्शन गरेका छन् ।
कोलकाता पहिले औपनिवेशिक कालमा भारतको राजधानी थियो र यसको एक खुला स्थानमा क्रुद्ध साइकलयात्रीहरूले प्लेकार्ड बोकेर नारा लगाउँदै प्रदर्शन गरेका छन् । स्थानीय साइकल समूह राइड टु ब्रेथका प्रवक्ता गौतम श्राफले कोलकातामा साइकलमाथि प्रतिबन्ध लगाउनु कुनै अर्थ नभएको र यो मुख्याईंपूर्ण निर्णय भएको बताए ।
उनले धेरै मुलुकमा बढ्दो प्रदुषणका कारण साइकललाई अभिप्रेरित गरिएको समयमा अधिकारीहरूले कोलकातामा किन प्रतिबन्ध लगाएको भनी आफूहरू छक्क परेको बताए ।
एक करोड ४० लाख जनसङ्ख्या भएको नगर कोलकातामा यातायातको चाप निकै रहने गर्छ र यसै कारण १७४ सडकमा साइकल तथा रिक्सामाथि प्रतिबन्ध लगाइएको छ ।
अधिकारीहरूले हालै साइकल जफत गर्न थालेपछि यस नगरका साइकलचालकहरू क्रुद्ध भएका छन् । यहाँ साइकल चलाउनेहरू प्रायः गरिब कामदार पर्छन र उनीहरूले दैनिक रूपमा हजारौँ गाडी तथा ट्रकबीच आफूलाई जोगाउँदै यात्रा गर्नुपर्छ ।
प्रहरीहरूले साइकल चालकलाई दुःख दिन थालेको र दूध बाँड्न जाँदा आफ्नो साइकल खोसिएको एक दूध वितरकले बताए । उनले यो निर्णयविरुद्ध सङ्घर्ष गरिने बताए ।
भारतमा यातायातको औषत गति १३ किलोमिटर प्रतिघण्टा भए पनि कोलकातामा ८ देखि ११ किलोमिटर प्रतिघण्टामा झरेको यस राज्यका यातायातमन्त्री मदन मित्रले बताए ।
उनले कोलकातामा अन्य महागरपालिकामा भन्दा कम गाडी भए पनि यहाँका सडक साँघुरो भएको बताए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us