बजेटका कारण राष्ट्रपति ओबामाको मलेसिया भ्रमण स्थगित

काठमाण्डु टुडे २०७० असोज १६ गते १७:०१ मा प्रकाशित

क्वालालम्पुर, १६ असोज–विपक्षीहरुको विरोधका कारण संयुक्त राज्य अमेरिकाको बजेट पास हुन नसकेपछि राष्ट्रपति ओबामाको मलेसिया भ्रमण स्थगित भएको छ ।
उक्त बजेटका कारण अमेरिकामा आर्थिक असहजता उत्पन्न भएको छ । जसका कारण अमेरिकी डलरको मूल्यपनि एसियाली देशहरुमा कमी आएको पाइएको समाचारमा उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले यही अक्टोबर महिनाको ११ तारिखदेखि मलेसियासहितका केही एसियाली देशको भ्रमण गर्ने कार्यक्रम थियो ।
ओबामाले दक्षिण पूर्वी एसियाली देशहरु मलेसिया, ब्रुनाई, इन्डोनेसिया आदिको एक सामुहिक संस्थाको अन्तर्राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम थियो ।
मलेसियाली प्रधानमन्त्री नजिव राजाकले बुधबार सो विषयको जानकारी दिएका हुन । उनले उक्त सम्मेलनमा राष्ट्रपति ओबामाको सहभागिता नरहने जानकारी गराइएको बताए ।
मलेसियाका प्रधानमन्त्री नाजिबलाई एक सन्देश पठाई राष्ट्रपति ओबामाले मलेसिया आउन नसकेकोमा आफूलाई दुःख लागेको बताउनुभएको पनि प्रधानमन्त्री नाजिबले जानकारी दिए ।     सो स्थानमा ओबामाले आफ्ना विदेश मन्त्री जोन केरीलाई पठाउने जानकारी गराएका छन ।
संयुक्त राज्य अमेरिकामा केही दिनयतादेखि बजेटका बारेमा छलफल भइरहेको छ । तर उक्त बजेट संसदबाट पारित हुन सकिरहेको छैन । जसका कारण आर्थिक समस्याहरु देखा परिसकेको बताइएको छ । राष्ट्रपति ओबामाले विपक्षी रिपब्लिकनहरुले असहयोग गरेका कारण बजेट पारित हुन नसकिरहेको टिप्पणी गरेका छन । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us