अमेरिकी सङ्घीय सरकार सत्र वर्षपछि पहिलो पटक बजेटका कारण बन्द

काठमाण्डु टुडे २०७० असोज १५ गते १६:२१ मा प्रकाशित

वासिङटन, १५ असोज–अमेरिकी सङ्घीय सरकार कङ्ग्रेसमा बजेटसम्बन्धी विवाद समाधान गर्न राजनीतिक प्रयासको असफलतापछि गत १७ वर्षपछि पहिलो पटक बन्द हुनेभएको छ ।
सोमबार मध्यरातको १० मिनेट अगाडि ह्वाइट हाउसको बजेट कार्यालयले धेरै सरकारी विभागहरूलाई बन्द आरम्भ गर्न आदेश दिएको छ । यसबाट करिब आठ लाख सङ्घीय कर्मचारी बिदामा जानेछन् र राष्ट्रिय निकुञ्ज तथा सङ्ग्रहालयमा पर्यटक जाने काम अवरुद्ध भएको छ ।
यसले सानादेखि ठूलासम्म सरकारी कार्यक्रमहरू प्रभावित हुने भएका छन् । गरिब महिला तथा बालबालिकालाई खाना उपलब्ध गराउने सामाजिक कार्यक्रम प्रभावित हुने भएको छ भने ‘स्ट्याचु अफ लिबर्टी’ पनि बन्द हुनेभएको छ ।
यस समस्याको छिटो समाधान अझै अस्पष्ट भएको छ र अर्थशास्त्रीहरूले बन्द केही दिनभन्दा लम्बिएमा मन्द अर्थतन्त्रमा सुधार प्रभावित हुने बताएका छन् । मङ्गलबार केबल अत्यावश्यक सरकारी कर्मचारीहरू आफ्नो कार्यकक्षमा हुनेछन् । ह्वाइट हाउस जस्ता सरकारी विभागहरूमा निकै कम कर्मचारी रहनेछन् । चिठीपत्र वितरण गर्ने तथा हवाइ यातायात नियन्त्रण सामान्य रूपमा सञ्चालन हुनेछन् ।
हाल अमेरिकी राजनीति नराम्रो आरोप प्रत्यारोपबीच विभाजित भएको छ । रिपब्लिकनहरूले सरकारको नयाँ बजेटलाई राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सेवा कानुनलाई निस्क्रिय बनाउने प्रयासका रूपमा लिएका छन् । तर उनीहरूको हरेक प्रयासलाई डेमोक्र्याटहरूको नेतृत्वमा रहेको सिनेटमा राष्ट्रपति ओबामाका सहयोगीहरूले असफल बनाएका छन् । सोमबार रातीदेखि आर्थिक वर्षको अन्त्यमा कोष सकिएपछि सरकार समस्यामा परेको छ ।
उक्त समय सकिएको दुई मिनेटपछि सिनेटका बहुमतका नेता ह्यारी रिडले सिनेटमा यो अमेरिकालाई अनावश्यक प्रहार भएको बताए । उनले रिपब्लिकन पार्टीका टी–पार्टी समूहमाथि आरोप लगाउँदै उनीहरूले लाखौँ जनताले पाउने स्वास्थ्य सेवा मेटाउन यो प्रयास गरेको बताए । उनले जनताको प्रतिनिधित्व गर्नुपर्ने व्यक्तिहरूले टी–पार्टीको नेतृत्व गरिरहेको आरोप लगाए ।
किनिपियाक विश्वविद्यालयले मङ्गलबार बिहानै गरेको सर्वेक्षणमा भाग लिने ७२ प्रतिशतले ओबामाकेयरलाई कार्यन्वयन हुन नदिन सरकारको कामकाज रोक्ने कार्यको विरोध गरेका छन् भने २२ प्रतिशतले समर्थन गरेका छन् ।
सरकारी कामकाज बन्द हुनुअगाडि संसदका रिपब्लिकनहरूले मङ्गलबार सिनेटमा यस विषयमा वार्ता गर्न प्रतिनिधि मण्डल गठन गरेका छन् । रिडका सहयोगीले यदि उनीहरू ओबामाकेयरमै टाँसिएर बसे सिनेटले वार्ता नगर्ने बताएका छन् ।
सन् १९९६ पछि पहिलो पटक सरकारी कामकाज बन्द भएपछि अमेरिकी राष्ट्रपति ओबामाले एक भिडियो सन्देशमा अमेरिकी सैनिकलाई उनीहरूले कङ्ग्रेसबाट राम्रो व्यवहार पाउनुपर्ने धारणा राख्दै आफूले सरकारको कामकाज पुनः खुला गर्न काम गर्ने बचन दिएका छन । राष्ट्रपति आबोमाले यसअघि रिपब्लिकनले उनीहरूको कट्टर राजनीतिक मागका लागि अमेरिकालाई बन्धक बनाएको बताए । प्रतिनिधि सभाका सभामुख जोन बोअनरले राष्ट्रपति ओबामासँग असफल वार्तापछि उनको निकै आलोचना गरे ।
रिपब्लिकनहरूले राष्ट्रपति ओबामाले सद्भावमा वार्ता गर्न अस्वीकार गरेको अरोप लगाएका छन् । ह्वाइट हाउसले भने ओबामाकेयर कानुनको रूपमा रहेको र यसलाई कार्यान्वयन हुनबाट रोक्न नसकिने बताएको छ । यसले सबै अमेरिकी जनतालाई खर्च गर्नसकिने स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
‘‘टी–पार्टी’’ रिपब्लिकनहरूले संसदमा ओबामाकेयरलाई असफल बनाउन प्रयास गरिरहेका छन् । यसलाई राष्ट्रपति ओबामाको प्रमुख घरेलु राजनीतिक उपलब्धिको रूपमा लिइएको छ । यसको प्रमुख भाग मङ्गलबारदेखि लागु भएको छ ।
यसलाई डेमोक्र्याट राष्ट्रपति ओबामा तथा रिपब्लिकन बहुमत भएको संसदको तल्लो सभाको गम्भीर सैद्धान्तिक मतभेदको रूपमा हेरिएको छ । यी दुई शक्तिबीच अमेरिकी सरकारको आकार तथा उसको राष्ट्रिय जीवनमा भूमिका विषयमा व्यापक मतभेद रहेको छ ।

राष्ट्रपति ओबामाले ह्वाइट हाउसबाट टेलिभिजन सन्देशमा संसदको एक दलको एक भागले सरकारको एक हाँगाको रूपमा रहेर निर्वाचनमा नतिजा प्राप्त भएको विषयमा पुनः विवाद उठाइ सरकार बन्द गर्न नहुने बताए । उनले सरकार बन्द हुँदा हालै मन्दीबाट उत्रिएको अर्थतन्त्रलाई नराम्रोसँग क्षति पुयाउने बताए । उनले सरकार बन्द हुनुको वास्तविक जनतामा वास्तविक प्रभाव पर्ने बताए । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us