भारतीय अदालतद्वारा सत्ताधारी दलका सांसदलाई भ्रष्टाचारको आरोपमा दोषी प्रमाणित

काठमाण्डु टुडे २०७० असोज १५ गते १६:०५ मा प्रकाशित

नयाँ दिल्ली–भारतको सत्ताधारी कङ्ग्रेस पार्टीका सांसद ६६ वर्षीय रशीद मसुदलाई भ्रष्टाचारको मुद्दामा मङ्गलबार चार वर्षका लागि काराबासको सजाय तोकिएको छ । उनी फौजदारी अभियोगमा दण्डित भएर संसदीय पद गुमाउने पहिलो सांसद भएका छन् ।
रशीदलाई गत महिना २० वर्ष अगाडि चिकित्सा अध्ययनसंस्थामा जालसाँज गरी विद्यार्थी मनोनयन गरेको मुद्दामा जालसाँज गरेको,षडयन्त्र गरेको तथा कीर्तेमा संलग्न भएको भनी दोषी प्रमाणित गरिएको छ ।
अदालतले मङ्गलबार यसै मुद्दामा दुई अवकाशप्राप्त कर्मचारीलाई चार वर्षको काराबासको सजायका साथमा नौ विद्यार्थीलाइ एक वर्षको काराबासको सजाय तोकेको जानकारी प्रेस ट्रस्ट अफ इन्डियाले दिएको छ ।
यो अभियोग लगाउने केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) का वकिल भी.एन.ओझाले मसुदले अयोग्य उम्मेदवारका साथै आफ्नो भतिजालाई समेत मनोनयन गरी क्षमतावान विद्यार्थीको जीवन नष्ट गरेको आरोप लगाए ।
उनले २० वर्ष अगाडि पीडा भोग्ने विद्यार्थीलाई क्षतिपूर्ति दिन नसकिने भएकाले दोषीलाई अधिकतम दण्ड दिन आग्रह गरे । उक्त जानकारी पीटीआईले दिएको हो ।
मसुदले उच्च अदालतमा पुनरावेदन दिनसक्छन् तर उनी सर्वोच्च अदालतले जुलाइ महिनामा दिएको निर्णय अनुसार सांसद हुन अयोग्य हुन्छन् र उनको स्थान खाली हुनेछ ।
सर्वोच्च अदालतको उक्त निर्णयलाई कार्यान्वयन हुन नदिन सरकारले तयार गरेको अध्यादेश गत साता अकस्मात् रोकिएपछि मसुदको सांसद पद रिक्त हुने अवस्था आएको हो । बुधबार मन्त्रिपरिषद्को बैठकपछि सरकारले उक्त विधेयक फिर्ता लिने अनुमान गरिएको छ ।
यसको एक दिन अगाडि पूर्वी राज्य झारखण्डको एक अदालतले कङ्ग्रेस पार्टीका क्षेत्रीय सहयोगी लालुप्रसाद यादवलाई चारा खरिदमा सार्वजनिक कोष हिनामिना गरेको आरोपमा दोषी प्रमाणित गरिदिएको थियो ।
उत्तर प्रदेशका मसुदले सन् १९९० मा स्वास्थ्य सहायक मन्त्रीको पद सम्हालेका थिए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us